मानव तस्करीको कहाली लाग्दो अवस्था



नेपाली युवाको विदेशमोह व्याप्त छ। त्यसमा पनि अमेरिकी सपनाले नेपाली युवा मानव तस्करको चङ्गुलमा फस्ने गरेका छन्। स्वदेशमै श्रम गरी स्वावलम्बी बन्ने कुरा अभैm पनि दर्शनमा सीमित बन्न पुगेको छ। भर्खरै मात्र ४० लाख रुपियाँ खर्चेर अमेरिका जान मानव तस्करको पछि लागेका तीन नेपाली युवतीमध्ये एकजनाको समुद्रमा जहाज हराएपछि पानी नै खान नपाएर मृत्यु भएको कारुणिक खबर सार्वजनिक भएको छ। बल्लतल्ल बाँचेर नेपाल फर्किएका दुई युवती आफ्नो परिचय लुकाएर मानव तस्करसँग फसेको रकम उठाउन लागिपरेका छन्।

मानव तस्करको फन्दामा परेर बिचल्ली परेका पीडितहरूको कथाव्यथा सुन्दा चलचित्रको कथाजस्तै लाग्छ। तर, अवैध बाटोबाट अमेरिका पुग्ने लालसामा महिनौँसम्म अलपत्र पर्ने गरेका विदारक घटनाहरू सार्वजनिक हुँदै आएका छन्। ज्यान हत्केलामा राखेर अनि लाखौँ रुपियाँ खर्चिएर अमेरिका गन्तव्यमा एकाध युवा पुग्ने गरे पनि अधिकांश घर न घाटका भएका हुन्छन्। आफ्नो अमूल्य जीवन मृत्युको मुखमा राखेर अमेरिकी सपनामा जोखिम उठाउने युवालाई धिक्कारबाहेक अर्को भन्ने शब्द केही छैन।

अमेरिकी सपनाले दलालको फन्दामा परेर आफ्नो अमूल्य जीवन गुमाउने एक पात्र हुन् भक्तपुरकी सुमित्रा कुँवर। मानव तस्करले दिल्ली हुँदै हैटीबाट पानीजहाजमा लैजाँदै गर्दा क्यारेबियन समुद्रमा १८ दिन पानीजहाज नै हराउन पुग्यो। उक्त पानीजहाजभित्र पानी र खाना नपाएर सुमित्राले ज्यान गुमाएको सास्ती खेपेर फर्किएका दुई युवतीले उजागर गरेका छन्। अवैध बाटोबाट अमेरिका पुग्ने सपना देखेर कति नेपालीले बीचमै ज्यान गुमाएका छन्, त्यसको पनि लेखाजोखा छैन। सञ्चारमाध्यममा नआएकाको खबर झनै डर लाग्दो छ। यस्ता घटना सार्वजनिक हुँदा पनि नेपाली समाज चिन्तित नहुनु विडम्बनापूर्ण छ।
अमेरिका लैजाने भनेर विभित्र देश पु¥याइएका घटनाले नेपालीमा रहेको अमेरिकामोह मात्रै होइन, प्रशस्त कमाइ हुने अभिलासा बोकेर अवैध बाटोबाट अमेरिका छिर्न मानव तस्करको भर पर्ने नेपालीको प्रवृत्तिलाई पनि दर्शाएको छ।

अवैध रुटबाट अमेरिका लैजाने प्रलोभन देखाएर मानव तस्करहरूले प्रतिव्यक्ति ४० लाख रुपियाँसम्म उठाउने गरेको र विभिन्न देशमा अलपत्र पर्ने युवाले घरबाट थप रकम झिकाएर दलाललाई बुझाउने गरेका दृष्टान्त थुप्रै छन्। अमेरिकाको सपना देखाएर मानव तस्करी गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठूलो गिरोह सक्रिय हुँदै आए पनि सरकार तस्करीको जालो भत्काउन असफल हुँदै आएको छ।

जोखिमपूर्ण तबरले लुकेर यात्रा गर्दा कतिपयको सर्पले डसेर, ट्रकमा निस्सासिएर, डुंगा पल्टिएर, बिरामी परेर बीचबाटोमै मृत्यु हुने त कतिपयको हत्यासमेत हुुने गर्दछ। अनेकौँ हन्डर बेहोरेर केही मात्रै गन्तव्यमा पुग्छन्। पछिल्लो समय अझ भूकम्पपछिको अवस्थामा सयौँ नेपाली कोलम्बिया हुँदै पैदलमार्ग अमेरिका पुगेको तथ्यांकले मानव तस्करी मौलाउँदै गएको मात्र होइन, यसलाई नियन्त्रण गर्न चुनौतीसमेत देखिएको छ। स्मरणीय त के छ भने, अमेरिका जानका लागि दलाललाई रकम बुझाएकाहरू कसैले पनि दलालको पहिचान सार्वजनिक गर्न चाहँदैनन्। अरूसँग परामर्श गर्दा आफ्नो अमेरिका जाने योजना नै बिग्रिन्छ कि भन्ने सोचले उनीहरू दलालको फन्दामा पर्ने गरेका छन्। नेपाली समाज र देशलाई नै प्रभावित बनाउने मानव तस्करीको विषयमा सर्वसाधारण आपैmँ सचेत नहुने हो भने त्यसले थप क्षति पु¥याउने निश्चित छ। देशमा विकास र समृद्घिको रट लगाउने सरकारले यसरी भइरहेका मानव तस्करीको विषयमा गहन अनुसन्धान गरेर संलग्नहरूलाई कडा कारबाही गर्नु जरुरी देखिन्छ।
– छवि पौडेल, चितवन, हाल: दुबई

वैदेशिक रोजगारीमा नीतिगत समस्या
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै गएका छन्। अमेरिका, युरोपियन मुलुक, मलेसियालगायत खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि भन्दै नेपाली कामदार ठगिँदै आएको खबर सञ्चारमाध्यमहरूमा आउने क्रम जारी छ। ठगीका उजुरी परे पनि छानबिन गरी पीडितलाई न्याय दिलाउने काम भने अत्यन्तै सुस्त गतिमा हुने गरेको छ। जसका कारण शृङ्खलाबद्धरुपमा वैदेशिक रोजगारमा रहेका नेपाली तथा जान चाहने युवालाई विभिन्न प्रलोभन देखाएर ठग्ने गिरोह सक्रिय भइरहेका छन्।

वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम असुलेर फरार हुने, रकम असुल गरी विदेश नपठाउने, राहदानी नियन्त्रणमा लिएर राख्नेलगायतका अवैध काम गर्नेविरुद्ध उजुरी परे पनि त्यस्ता म्यानपावर कम्पनी तथा एजेन्टविरुद्ध कारबाही भने हुन सकेको छैन। प्रायजसो कामअनुसार तलब नदिने, एउटा काम देखाएर अर्कैमा पठाउने म्यानपावर कम्पनी तथा व्यक्तिविरुद्ध हजारौँ उजुरी पर्ने गरेका छन्। म्यानपावर व्यवसायी वा एजेन्टबाट अवैध काम भइरहे पनि वैदेशिक रोजगार विभागले नगण्यरुपमा कानुनी कारबाही गरेको पाइन्छ। भर्खरै मात्रै २८ जना कार्वाहीमा परेको खबरले केही हलचल मच्चाएको छ। दलालहरू सतर्क भएको अवस्था छ। यस्ता गतिविधि रोक्न नीतिगतरुपमै समस्याको समाधान जरुरी छ।
– रोबिन सुनार, काठमाडौं

प्रतिक्रिया दिनुहोस्