विदेशबाट धुलो दूध आउन थालेपछि, नेपालमा “मिल्क होलिडे”



नेपाल समाचारपत्र
काठमाडौं
विदेशबाट धूलो दूध आयात भएका कारण किसानले मुलुकभित्रै उत्पादन गरेको दूध खपत हुन नसक्दा दूध बिदा अर्थात् ‘मिल्क होलिडे’को अवस्था सिर्जना भएको छ। केन्द्रीय सहकारी संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विदेशबाट दूध र दुग्धजन्य वस्तुको आयात भएका कारण झापा, इलाम, सुनसरी, चितवन, बाँकेलगायत जिल्लाका स्थानिय कृषकले आफ्नो उत्पादन बजारमा पठाउन नपाएपछि मिल्क होलिडेको अवस्था आएको जनाएको हो। मुलुकका विभिन्न स्थानमा दूध बिदाको समस्था देखिन थालेपछि उक्त समस्यालाई सरकारले तत्काल समाधानका लागि पहल नगरे सहकारी संघमा आबद्ध सहकारीका कृषकले विरोधका कार्यक्रमसमेत गर्ने जनाएको छ।

किसानले आफूले उत्पादन गरेको दूध बिक्री गर्न नसक्दा सडकमा पोखेर विरोधका कार्यक्रम गर्ने केन्द्रीय दुग्ध सहकारी संघ का अध्यक्ष नारायणप्रसाद देवकोटाले बताउनुभयो। विदेशबाट खुला रुपमा कच्चा दुध, दुधजन्य पदार्थ एवं पाउडर दुध आयात भईरहँदा र स्वदेशी उदाउँदो उद्योगलाई प्रविधियुक्त, सक्षम र सबल बनाउनुको साटो झन् अस्वस्थ प्रतिस्पर्धा बढाई रहँदासमेत राज्यको ध्यानाकर्षण नहुनु किसानका लागि बिडम्बना रहेको देवकोटाको भनाइ छ।

पत्रकार सम्मेलनमार्फत् महासंघले आफ्ना १४ बँुदे मागसमेत सार्वजनिक गरेको छ। जसअन्तर्गत, सरकारले दुग्धजन्य वस्तुको लागत घटाउने, उत्पादन बढाउने र व्यवसाय प्रवद्र्धनका लागि कृषकलाई सहकारी शिक्षा तथा तालिमको व्यवस्था गरिनुपर्ने, सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाई दुग्धजन्य वस्तुको विकास मात्र नभई कृषकले उत्पादन गरेको दूधको बजारको सुनिश्चितता गरिनुपर्नेलगायत रहेका छन्। त्यसैगरी यसअघि सरकारले चिस्यान केन्द्रका लागि ५० प्रतिशत विद्युत् महशुल अनुदानको व्यवस्था गरिएकोमा उक्त सुविधालाई निरन्तरता दिइनुपर्ने, ५० प्रतिशत दुग्धजन्य पदार्थमा लागेको मूल्य अभिवृद्धि कर छुटको निरन्तरता दिइनुपर्ने र विदेशबाट आयातित दुधजन्य पदार्थ तथा धुलो दुधमा हाल लगाईएको भन्सार दरमा ३५ प्रतिशत वृद्धि गरिनुपर्ने महासंघले माग राखेको छ।

संघले नेपालमा विदेशबाट आयातित कच्चा दुधलाई पूर्ण रुपमा रोक लगाउनसमेत माग राखेको छ। दूध संकलन, चिस्यान तथा ढुवानीका प्रविधिमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिनुपर्ने, युवालाई पशुपालन व्यवसायमा आकर्षित गर्न ५ लाख रुपियाँ बराबरको व्यवसाय धितो सहुलियत कर्जा उपलब्ध गराउने र हाल बन्द भएका धुलो दूध कारखाना नियमित रुपमा पूर्ण क्षमतामा सञ्चालनमा गर्नु पनि सरकारले पहल चाल्नुपर्ने संघले जनाएको छ।

दुग्ध विकास संस्थानद्वारा सञ्चालित धुलो दूध कारखाना नियमित रुपमा पूर्ण क्षमतामा सञ्चालन गराउने, सहकारी साझेदारीमा दूध भन्डारण गर्न ४० हजार क्षमताको दुग्ध चिस्यान केन्द्र स्थापना गर्न बजेट व्यवस्थापन गर्नुपर्ने, धुलो दूध कारखानाको स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने, उत्पादनका आधारमा प्रतिलिटर अनुदानलाई कुल राष्ट्रिय दुग्ध उत्पादनका आधारमा तीन रुपियाँ प्रतिलिटर बनाई निरन्तरता दिनुपर्ने विषयमा पनि सरकार गम्भिर हुनुपर्ने केन्द्रीय सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताउनुभयो।

भारतीय कम्पनी अमुल नेपालमा आउने चर्चा चलिरहेका बेला उक्त विषयमा पनि सहकारी संघले आफ्नो धारणा सार्वजनिक गरेको छ। संघका उपाध्यक्ष रामेश्वर पोखरेलले अमुल उद्योग नेपालमा भित्रिने भन्ने कुराको संघले विरोध गरे पनि त्यसको प्रविधि नेपालमा ल्याइनु आवश्यक रहेको बताउनुभयो। ‘प्रविधि आउने कुरामा विरोध होइन तर सबै कच्चा पदार्थ भारतबाट ल्याएर नेपालमा उद्योग स्थापना गर्ने कुराको हामी विरोधी हौं।’ उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्