सेनाको प्रतियोगिताका विजयीलाई पुरस्कार



नेपाली सेनाद्वारा आयोजित लघु फिल्म प्रतियोगिता–२०७४ का उत्कृष्ट फिल्मलाई पुरस्कार प्रदान गरिएको छ। सोमबार जंगी अड्डास्थित सभामण्डपमा आयोजित विशेष समारोहका बीच प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कार प्रदान गरेका हुन्।

प्रतियोगितामा सञ्जीव पौडेलकोे लघु फिल्म अटुट नाता प्रथम, शम्भुसेन थापाको त्याग द्वितीय र प्रधुम्न मिश्रको इतिहास निर्माणको यात्रामालाई तृतीय भएबापत क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपियाँ प्रदान गरिएको थियो। चौथो हुने विकास लामाको लघु फिल्म विजेता र पाँचौं हुने जोन गुरुङको वैशाखीलाई सान्त्वना पुरस्कारस्वरूप जनही २५ हजार रुपियाँ प्रदान गरिएको थियो।

सोही अवसरमा नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही वार्षिक–२०७४ तथा द शिवपुरी जर्नल२०१८ मा प्रकाशित लेख रचनाका विजेतालाई पनि पुरस्कार प्रदान गरिएको थियो। नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको लघु फिल्म प्रतियोगितामा विभिन्न विषयवस्तु समावेश गरी फिल्म विज्ञहरूद्वारा मूल्यांकन गराई उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आएको जनाएको छ।

यस किसिमको प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु फिल्म उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने तथा नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्