विश्व स्वास्थ्य संगठनबाट नेपाल सम्मानित



नेपाल समाचारपत्र
काठमाडौं
जेनेभामा सञ्चालित विश्व स्वास्थ्य संगठनको ७१औं महासभामा आइतबार नेपाल सम्मानित भएको छ। नेपालले आँखामा लाग्ने खस्रे रोग (ट्रकोमा) निर्मूलमा गरेको उल्लेख्य उपलब्धिको कदर गर्दै विश्व स्वास्थ्य संगठनले नेपाल सरकारलाई सम्मान गर्दै रोग निर्मूलको प्रमाणपत्र प्रदान गरेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुसले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई उक्त प्रमाणपत्र प्रदान गर्नुभएको स्वास्थ्य मन्त्रीका स्वकीय सचिव राजेश शर्माले जेनेभाबाटै जानकारी गराउनुभयो।

विश्व स्वास्थ्य संगठनको ७१औं महासभामा भाग लिन जेनेभा आएको नेपाली प्रतिनिधिमण्डल र विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीबीच दुईपक्षीय छलफलमा सो प्रमाणपत्र प्रदान गरिएको हो।

प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा आउनुभएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुसबीच विगतमा नेपालमा भएका स्वास्थ्यसँग सम्बन्धित सफल अभ्यास, उपलब्धि र योजनाका विषयमा छलफल सम्पन्न भयो। सो क्रममा नेपालले हासिल गरेका उपलब्धि र यसमा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाका बारेमा मन्त्री अर्यालले स्मरण गराउनुभयो। विश्व स्वास्थ्य संगठनले जारी गरेको ुजेनेरल प्रोग्राम अफ वर्कु, (जीपीडब्ल्यू) र नेपालमा समृद्धिको सपनासहित अगाडि बढेको सरकारको योजना एकसाथ आएको हुँदा स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्न सकिने कुरामा मन्त्री अर्यालले जोड दिनुभयो।

नेपाल संघीयता कार्यान्वयनको विशिष्टीकृत अवस्थामा रहेको हुँदा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको नीति र पद्धति विकासमा विशेष प्राविधिक सहयोग प्रदान गर्न र नेपाली विज्ञहरूको अर्थपूर्ण सहभागितामा विश्व स्वास्थ्य संगठनका नीति, योजना र कार्यक्रम जारी गर्न साथै विज्ञहरूलाई जिम्मेवारी दिनसमेत मन्त्री अर्यालले आग्रह गर्नुभयो।

सो छलफलमा बोल्दै महानिर्देशकले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफूलाई खुसी लागेको र यसै गरी छिट्टै प्रमाणपत्र प्रदान गर्न पाउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो। स्वास्थ्य क्षेत्रको संस्थागत विकास र समृद्धिमा सहयात्री बन्न गर्नुभएको आग्रहले आफू निकै उत्साहित भएको उहाँले बताउनुभयो।

सो छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालको नेतृत्वमा नेपालको जेनेभास्थित स्थायी नियोगका स्थायी प्रतिनिधि, दीपक धिताल, स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख, महेन्द्रप्रसाद श्रेष्ठ, नायब स्थायी प्रतिनिधि तीर्थराज वाग्लेसहित ९ जना, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस, दक्षिण(पूर्वी एसिया प्रमुख डा. पुनम क्षेत्रपाल सिंहसहित विश्व स्वास्थ्य संगठन मुख्यालयका ७ जना प्रतिनिधिको सहभागिता रहेको शर्माले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्