शिवरामको टिमलाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
व्यवसायिक नेपाली गल्फर शिवराम श्रेष्ठको टोलीले गोकर्ण गल्फ क्लबमा भएको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम उपाधि जितेको छ। शिवराम सहित एमेच्योर गल्फर नवराज थापा, श्रीयोग बस्न्यात र साम दबलार्डको टोलीले आइतबार उक्त उपाधि हात पारेको हो।

विजेता टोलीले १ सय ४९ अंक जोडेको थियो। जसमध्ये शिवरामले ४०, नवराज र श्रियोगले समान ३७ र सामले ३५ अंक जोडेका थिए। यसैगरी व्यवसायिक गल्फर दीपक आचार्यसहित एमेच्योर गल्फर मिआए ली, पवित्र कार्की र मयान्क दाहालको टोलीले दोस्रो स्थान हासिल गरे। आचार्यले ३८ अंक जोड्दा ली ले ३५, कार्कीले र दाहालले समान ३४ अंक जोडेका थिए। यसैगरी तेस्रो स्थानमा रहेको सञ्जय लामाको टोली १ सय ३७ अंकमा रहेको थियो।

उक्त प्रतिस्पर्धामा २३ व्यवसायिक गल्फर सहित कुल ८६ खेलाडीले खेलेका थिए। विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्राइभेट लिमिटेडका म्यानेजिंग डाइरेक्टर अभिमन्यु पोड्डार र गोकर्ण गल्फ क्लबका जोसेफ नाथानले पुरस्कार वितरण गरेका थिए। आजैबाट ७२ होलको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु हुँदै छ। पहिलो हुनेले २ लाख ३० हजार प्राप्त गर्नेछ भने दोस्रो र तेस्रोले क्रमशः १ लाख ४० हजार र ९५ हजार नगद हात पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्