रक्षामन्त्रीद्वारा मैलुङ–स्याफ्रुबेंशी सडकको उद्घाटन



काठमाडौं, (नेस)
नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेंशी सडकको रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ। साथै सोही अवसरमा नेपाली सेनाले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक योजनाका प्रमुख सुबोधकुमार देवकोटालाई औपचारिक रूपमा उक्त सडक हस्तान्तरण गरेको छ।

तत्कालीन अर्थमन्त्री रामशरण महतले शिलान्यास गर्नुभएको मैलुङ–स्याफ्रुबेंशी सडक खण्डमा नेपाली सेनाले २०७२ वैशाख १ गतेबाट निर्माणको काम शुरु भएको थियो। शुरुआतमा ७ किलोमिटर ‘सिड्डल लेन’ को सडक निर्माणको जिम्मेवारी पाएकोमा भूकम्पपछि १० किलोमिटर थप गरी जम्मा १७ किमिको डबल लेन सडक निर्माण गर्ने जिम्मेवारी प्राप्त भएको थियो।

बेत्रावती–धुन्चे–स्याफ्रुबेंशी सडक खण्डभन्दा हाल निर्माण सम्पन्न गरिएको मैलुङ–स्याफ्रुबेंशी सडक खण्डको दूरी करिब २५ किमि कम भएकाले यस सडक खण्डले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउनुका साथै उत्तरमा रहेको रसुवागढी नाका र दक्षिणमा रहेको ठोरी नाकालाई जोड्ने महत्वपूर्ण सडकको रूपमा समेत रहेको छ

सोही अवसरमा रसुवा जिल्लाको स्याफ्रुबेंशीमा जिल्ला समन्वय समितिले सञ्चालन गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेल, भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र रसुवा जिल्लाको प्रतिनीधिसभाका सदस्य मोहन आचार्यले राष्ट्रले दिएको महŒवपूर्ण जिम्मेवारी समयमा सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली सेना र प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई धन्यवाद प्रदान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्