टेक्सास स्कुल गोलीकाण्डका दोषीलाई मृत्युदण्ड नहुने



ह्युस्टन,(एजेन्सी)
टेक्सासको ह्युस्टनस्थित सान्ता फे स्कुलमा जथाभाबी गोली प्रहार गरी १० जना व्यक्तिको ज्यान लिने १७ वर्षीय विद्यार्थी दिमित्रिओस पागोर्तजिसलाई ठूलै नरसंहारको मुद्धा लगाइए तापनि मृत्युदण्ड भने हुन नसक्ने कानुनविद्ले आइतबार बताएका छन्। बरु टेक्सासको सर्वोच्च अदालतको नियम कानुनअनुसार उनी ५७ वर्षको उमेरमा कारागार मुक्त हुने भएका छन्।

सन् २००५ मा बनाइएको नयाँ कानुनअनुसार १८ वर्षभन्दा मुनिका जो कोहीले पनि जस्तोसुकै खालको अपराध गरे पनि मृत्युदण्डको सामना गर्नु नपर्ने भएको थियो। साथै यस्तो अवस्थामा आजीवन काराबास पाएका कैदीलाई कैद मिनाहा गरिनुपर्ने नयाँ नियम सन् २०१२ मा बनाइएको थियो। जसअनुसार हत्याको अपराधमा नाबालकले कम्तिमा ४ दशक काराबास सजाय भोग्नुपर्ने नियम टेक्सासमा लागू गरिएको थियो।

सन् १९८५ देखि २००३ सम्म अमेरिकाभरि २२ जना नाबालकलाई मृत्युदण्ड दिइएकामा ११ जना टेक्सासका रहेका थिए। मृत्युदण्ड सूचना केन्द्रका अधिकारी रोवर्ट डन≈यामले उनलाई कैद मिनाह हुनसक्ने शर्तमा चालीस वर्ष लामो काराबास सजाय हुने पुस्टि गरेका छन्।

पागोर्तजिसले आफ्नो पिताको लाइसेन्सप्राप्त बन्दुकबाट विद्यालयको कक्षाकोठामा गएर अन्धाधुन्ध गोली चलाएका थिए। उनको डायरी, कम्प्युटर र मोबाइलबाट प्राप्त सूचनाअनुसार हत्याकाण्डपछि उनको आत्महत्या गर्ने योजना रहेको प्रहरीले सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्