एकताको भावना जनस्तरमा पुर्याऊ



नेपाल कम्युनिस्ट पार्टीका नाममा दुई ठूला दल एक भएका छन् । विश्वभरका कम्युनिस्ट पार्टीहरू समाजवादी पार्टीमा रूपान्तरण भइरहेको बेला नेपालमा भने दुई ठूला कम्यूनिस्ट पार्टी एक–आपसमा एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टीको रूपमा स्थापित भएको छ । एकता हुने कि नहुने भन्ने विभिन्न आशंका र अड्कलबाजीका बीच पार्टी एकता भने केन्द्रीय स्तरमा सम्पन्न भएको छ ।

पार्टी एकीकरणपछि मुलुकका दुई पार्टीबीच मात्रै प्रतिस्पर्धा हुने देखिएको छ । तर कम्युनिस्ट पार्टीका नाममा स्थापना भएका दुई दलबीचको एकीकरणले कस्तो रूप लिन्छ ? यसको भने परीक्षण हुन बाँकी नै रहेको छ । केन्द्रीय स्तरमा एकता भए पनि जनसंगठन र तल्ला निकायमा हुने एकीकरण निर्णायक हुने देखिन्छ । जनस्तरमा एकताको भावना विकास नभएसम्म माथिल्लो निकायमा भएको एकताले खासै महत्व राख्दैन । यसतर्फ दुई अध्यक्षको ध्यान जान जरुरी छ ।

तत्कालीन नेकपा एमालेको जनाधार राम्रो भएको कारण उसले विभिन्न कालखण्डमा भएको निर्वाचनमा सोचेजस्तै सफलता हात पारेको छ । यता जनयुद्धको नाममा १० वर्ष हिंसात्मक युद्ध लडेको माओवादीमा भने जनाधार दिन–प्रतिदिन खस्कँदै गएको छ । नेता धेरै र कार्यकर्ता थोरै हुँदै गएको नेकपा माओवादी खेमाका नेतालाई अब हुने महाधिवेशनबाट आफ्नो साख जोगाउन हम्मेहम्मे पर्ने स्थितिलाई मध्यनजर राख्नुपर्ने अवस्था देखिन्छ । दुई पार्टीबीचको भावनात्मक एकता नभएसम्म ठूलो कम्युनिस्ट पार्टी हुनुको कुनै अर्थ रहँदैन ।

अबको दशक विकास र समृद्धिको दशक घोषणा गरेर एकताको सूत्रमा बाँधिएका दुई दलले स्पष्ट भिजनसहितको मुलुक निर्माणको अभियानलाई तीव्रता दिन सक्नुपर्दछ । मुलुकलाई साँच्चिकै समृद्धितर्फ उन्मुख गराउने हो भने कम्युनिस्ट पार्टीका कार्यकर्तालाई श्रम शिविरमा पठाउनुपर्दछ ।

जनश्रमदानविना राज्यले मात्रै विकास निर्माणलाई अगाडि बढाउन नसक्ने भएकाले संगठित सदस्यलाई कम्तीमा पनि वर्षमा एक महिना श्रम शिविरमा पठाउने अनिवार्य नियम बनाउन सक्नुपर्दछ । यसले जनतामा पनि केही गरौं भन्ने भावनाको विकास हुन्छ भने सरकारले तोकेको समयमा नै आँटेका परियोजना सम्पन्न गर्न मद्दत गर्न सक्ने भएकाले विकास र समृद्धि नारामा मात्रै सीमित नराखी व्यवहारमा नै उतार्न सक्नुपर्दछ ।

मुलुकलाई समृद्ध बनाउन अहिलेको सरकारले केही गर्न सक्ने जनअपेक्षालाई ध्यानमा राखेर अगाडि बढ्न सके जनताले दुई ठूला कम्युनिस्टहरू एक भएको अनुभूति गर्न पाउनेछन् । यसतर्फ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्