सन्दीप चम्किए, मुम्बई आईपीएलबाटै बाहिरियो



काठमाडौं । दिल्ली डेयर डेभिल्ससँग ११ रनले पराजित भएपछि मुम्बई इण्डियन्स आईपीएल लिग समूह चरणबाट बाहिरिएको छ । दिल्ली डेयरडेभिल्ससँग जित्नैपर्ने खेलमा मुम्बईले हारेपछि प्लेअफमा पुग्न सपना सकिएकाे हाे ।

दिल्ली डेयरडेभिल्सले भने आईपीएलको सुखद अन्त्य गरेको छ । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

मुम्बईका एभिन लेविसले ४८ र बेन कटिङ्सले ३७ रन बनाएपनि टिमलाई जिताउन भने सकेनन् ।  लेविसले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए भने कटिङ्सले २० बलमा २ चौका र ३ छक्का हाने । मुम्बइका अरु ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका लागि सन्दिप लामिछाने, अमित मिश्रा र हर्षल पटेलले तीन तीन विकेट लिएपछि मुम्बईकाे प्लेअफकाे सपना- सपनामै सिमित रहेकाे हाे  ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएका थियाे । फिरोज साह कोटला मैदानमा भएको खेलमा घरेलु टोली दिल्लीका रिषव पन्तले ६४ र विजयशंकरले नटआउट ४३ रन बनाए ।

पन्तले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६४ रन बनाएका हुन् भने  विजयले ३० बलमा ३ चौका र २ छक्का सहित ४३ रन बनाए । यस्तै, ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्