बिचौलिया अन्त्य गर्न कडा नियम



रामधन राई, खोटाङ

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवगढी नगरपालिकामा तरकारी लगायतका कृषि उपजमा हुने बिचौलिय अन्त्यका लागि कडा नियम बनाईएको छ । सदरमुकाम समेत रहेको उक्त नगरपालिकाको दिक्तेलबजारमा लाग्ने हाटबजारमा भइरहेको‘बिचौलिया’ प्रथा अन्त्य गर्न कडा नियम लागु गर्ने निर्णय गरिएको हो ।

बुधबार र शनिबार लाग्ने साप्ताहिक हाटमा आउने तरकारी तथा कृषि उपजलाई कतिपय व्यवसायीले बाटैमा खरिद गरेर महंगो मूल्यमा बिक्री गर्ने गरेको पाइएकाले कडाई गर्नु परेको नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

बिचौलिया अन्त्यका लागि नगरपालिकाले हाटका दिन बिहान ५ बजेदेखि ९ बजेसम्म ठेकेदारलाई तरकारी खरिदमा रोक लगाइएको छ । तरकारी व्यवसायीले बिहान ९ बजेपछि मात्र तरकारी खरिद गर्न पाउने मेयर रिजालले बताउनुभयो ।

नगरपालिकाको नियमलाई बेवास्ता गर्ने व्यवसायीलाई प्रहरी परिचालन गरेर पक्राउ गरी कारबाही गरिने नगरपालिकाले जनाएको छ । बिचौलिया अन्त्यकालागि यसअघि समेत पटक–पटक प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्