गैससको बदमासीः स्थापना भन्दा पहिल्यै प्रतिवेदन



मोतीराम तिमल्सिना, काभ्रे ।

२०७० साल असार १३ गते भक्तपुर जिल्लामा दर्ता भएको प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सामुदायिक बन उपभोक्ता महासंघ नेपालमा रहेको परियोजना प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण कार्यक्रमले मिलापत्र गरेको द्वन्द्वलाई समेत प्रतिवेदनमा राखेर सहयोग रकम लिईरहेको खुलासा भएको छ ।

सामुदायिक बन उपभोक्ता महासंघ नेपालले उक्त परियोजना २०७० सालसम्म संचालन गरेको थियो । भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा रहेको सुर्यमोड र सुर्यमोड पेरुङ्गे सामुदायिक बन उपभोक्ता समुहका उपभोक्ताहरु बीचको १४ वर्ष अघि देखिको द्वन्द्व सोहि परियोजनाबाट सामुदायिक बन उपभोक्ता महासंघ भक्तपुर र काभ्रे शाखाको अगुवाईमा मिलापत्र भएको थियो ।

त्यतिबेलाका मध्यस्थकर्ता जितबहादुर लामा हाल पेरुङ्गे सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष हुन् । लामाले २०६७ सालमा सामुदायिक बन उपभोक्ता महासंघले समाधान गरेको द्वन्द्व आाफुले गरेको भन्दै प्रचार गर्नु र प्रतिवेदनै पेश गरेर सहयोग रकम लिनु लाजमर्दाे भएको बताए ।

द म्याकनल फाउण्डेशनको आर्थिक र प्राविधिक सहयोगमा २००८ डिसेम्बर १ देखि प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण परियोजना सामुदायिक बन उपभोक्तामा संचालन भएको थियो । दोश्रो चरणको कार्यक्रम २०१० जनवरी ३१ देखि २०१३ सम्म सामुदायिक बन उपभोक्ता महासंघमै संचालन भएको थियो । त्यहि समयमा रुपान्तरण भएको विवाद एनजिओले गरेको भन्दै प्रतिवेदन पेश गरेर अनियमित गरेको खुलासा भएको हो ।

‘हाम्रो सामुदायिक बनका उपभोक्ताहरु बीचको द्वन्द्व सामुदायिक बन उपभोक्ता महासंघले रुपान्तरण गरेको हो, एनजिओका बारेमा मलाई जानकारी छैन, तर चुपबहादुर थापाहरुले किन त्यसरी प्रचार गरिरहेका छन्, बुझ्न सकेको छैन’–अध्यक्ष लामाले भने । त्यहि महासंघमा कार्यरत चुपबहादुर थापाले प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको स्थापना गरी संस्थाको कार्यक्रम ब्यक्तिगत संचालन गर्न २०७० साल देखि शुरु गरेका थिए ।

एनजिओले सामुदायिक बन उपभोक्ता महासंघले गरेको कार्यको गलत प्रचार गरिरहँदा मौन छ । थापाले परियोजना संचालन गरिरहँदा गरेको अनियमिता, एनजिओ संचालन गरेपछि गरेको अनियमिता, संस्थाको बदमासीका बारेमा छानविन हुने भएको छ । उता द एशिया फाउण्डेशनको सहयोगमा संचालन भएको सामुदायिक मेलमिलाप कार्यक्रममा विज्ञापन एउटा, नियुक्ति अर्काे गरेको कर्मचारीका विषयमा, मेलमिलापका नाममा तालिम, नाटक जस्ता कार्यक्रममा भएको अनियमितताका बारेमा समेत छानविन हुने भएको छ ।

संस्थाले रुपान्तरण गरेको भनिएको अनेकोट र जैसीथोकमा रहेको खानेपानीको मुहान विवाद पनि कागजमा मात्रै भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्