व्यबसायी बन्दै रुकुमका कृषक



धनवीर दाहाल, रुकुम ।
जिल्लाका कृषि व्यबसायीहरुले उद्योग वाणिव्य संघमा दर्ता भई स्थायी लेखानम्बर (पान) मार्फत बीउ खरिद बिक्रिका लागि सहमत भएका छन् । उनीहरुले रुकुम जिल्लाको तरकारी तथा खाद्यन्नको बीउ जिल्ला बाहिरका बीउ कम्पनिहरुले अन्य जिल्लाको बीउसँग मिसावट गरेर बेच्ने गरेकोले गुणस्तर माथी प्रश्न उठ्ने गरेको बताएका छन् ।

बुधबार किसानका लागि उन्नतबीउ बिजन कार्यक्रम (केयुबिके), कृषिउद्यम केन्द्र, लगानीद्धार कार्यालयले सदरमुकाम खलंगामा गरेको एक कार्यक्रममा कृषकहरुले केयुबिकेले व्यबसायिक बन्न, औपचारिक कारोबार मार्फत बीउ खरिद बिक्रिगर्न र गुणस्तरिय बीउउत्पादन गर्न अहम् भुमिका खेलेको बताएका छन् । केयुबिकेद्धारा अनुदान पाएर सम्पन्न भएका उपआयोजनाका र जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी बिच सम्बन्ध विकास कार्याशाला कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर पुनले बिभिन्न निजि बीउ कम्पनिहरुसँग साझेदारी गर्दै कृषि व्यबसायीहरु लाई उद्यमी बनाउने लक्ष्य उद्योग वाणिज्य संघले राखेको जानकारी दिनुभयो । उहाँले बीउ उत्पादक कृषकहरु आफैमा व्यबसायी भएकोले उद्योग वाणिव्य संघमा आबद्ध हुन र स्थायी लेखा नम्बर नम्बर लिएर कारोबार गर्न समेत अनुरोध गर्नुभयो । कार्यक्रममा उद्योग वाणिव्य संघका निवर्तमान अध्यक्ष बसन्त पुनले रुकुमको कृषि बीउलाई देश तथा बिदेशमा जिल्लाकै लोगो लगाएर पठाउन सबैले लागि पर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्नु हुदै, जिल्ला कृषि कार्यालयका निमित्त बरिष्ठ कृषि विकास अधिकृत राजेश साहले रुकुममै बीउको प्रशोधन केन्द्र निर्माणको आवश्यकता रहेको औल्याउनु भयो । सहभागि कृषकहरुले किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमको अनुदान पाएपछि समुह÷सहकारीले व्याबसायिक कृषि पेशा सुरुवात गरेको, योजनाबद्ध कृषि गरेको, आधुनिक कृषि सामाग्रिको उपयोग थालेको, मिसावट नभएको मुल बीउबाट गुणस्तरिय उन्नत बीउ उत्पादन गरेको लगायतका कुराहरु व्यक्त गरेका छन् ।

कार्यक्रममा एकिकृत कृषि सहकारी सस्थाका अध्यक्ष धनराज खड्काले केयुबिके लागु भएपछि समुह तथा सहकारीहरु व्यबसायिक तथा सस्थागत बन्नमा फाईदा पुगेको बताउनुभयो । त्यसैगरी बलिदान कृषि सहकारी सस्थाका अभ्यक्ष नरबहादुर खड्काले कार्यक्रमले कृषकहरुलाई उत्प्रेरणा दिएकोले केयुबिके नरहेपनि कृषकहरुको उत्पादन अब नरोकिने बताउनु भयो ।

कार्यक्रममा सहभागि समशितोष्ण तरकारी बीउ उत्पादन कृषि सहकारी सस्था खोलागाँउका अध्यक्ष गोपा बिएमले समुह, सहकारीको संस्थागत बिकासमा केयुबिकेले खेलेको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा एग्रोभेट व्यबसायीको तर्फबाट बोल्दै ज्ञवाली एग्रोभेट सेन्टर खलंगाका कमल ज्ञवालीले जिल्लाका कृषकहरुलाई मुल बिउ उपलब्ध गराउनुका साथै उत्पादित गुणस्तरिय उन्नत बीउ खरिदमा एग्रोभेटहरु पछि नहट्ने बताउनुभयो । त्यसैगरी साईकुमारी एग्राभेट सेन्टर मुसिकोटका नवराज के.सी.ले केयुबिकेले यथार्थ संकेत पत्र अंकित बीउको खरिद बिक्रि गर्न सिकाएकोले कृषकहरुको बीउ खरिद गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा केयुबिकेद्धारा अनुदान प्राप्त बिभिन्न १५ समुह तथा सहकारीका प्रतिनिधि, रुकुम उद्योग वाणिव्य संघका पदाधिकारी, एग्रोभेट व्यबसायीहरु लगायत ३५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्