इराकको संसदीय चुनावमा सादको गठबन्धनलाई सफलता



बग्दाद, (एजेन्सी)
इराकमा सम्पन्न संसदीय चुनावमा पूर्व सिया छापामार प्रमुख मोक्तदा सादको नेतृत्वमा रहेको गठबन्धनले सानदार विजय हासिल गरेको छ। सादले इराकमाथि अमेरिकाको नेतृत्वमा गठबन्धन फौजले गरेको आक्रमणविरुद्ध आयोजित दुईवटा महŒवपूर्ण आन्दोलनको अगुवाइ गरेका थिए।

तर इराकमाथिको गतिविधिमा इरानी संलग्नताको समेत कडा प्रतिकार गर्ने गरेका मोकतादाले उम्मेदवारी नदिएको कारण प्रधानमन्त्री भने बन्न नपाउने भएका छन्। तर उनले सरकार गठनमा भने महŒवपूर्ण भूमिका निभाउने अनुमान गरिएको छ।
चुनावको नतिजाअनुसार सत्ताबाट बाहिर लागेका प्रधानमन्त्री हैदर अल अवादी इरान समर्थित गठबन्धनको पछाडि अर्थात् तेस्रो स्थानमा रहेका छन्। गत डिसेम्बरमा इराक सरकारले इस्लामिक स्टेट (आईएस)माथि विजयी हासिल गरेको औपचारिक घोषणा गरेयताको यो पहिलो निर्वाचन हो।

आईएस लडाकूविरुद्ध संघर्षरत इराकी फौजलाई समर्थन र सहयोग गर्न अझै पनि करिब पाँच हजारको संख्यामा इराकमा अमेरिकी फौजको उपस्थिति रहेको छ। शनिबार बिहान सबेरै निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम चुनावी परिणामअनुसार सादको साएरोन ब्ल्कले संसद्को कुल ३ सय २९ सिटमध्ये ५४ सिट र अवादीको समूहले ४२ सिट जितेका छन्।

त्यसैगरी इरान समर्थित फताह गठबन्धनले ४७ सिट जितेर दोस्रो स्थान ओगटेको छ। सादको गठबन्धनमा उनको र कम्युनिस्ट पार्टीलगायत अन्य छवटा गैरधार्मिक समूह रहेका छन्। साद भ्रष्टाचार विरोधी तथा आर्थिक लगानीमा पोख्त नेताका रूपमा पनि चिनिन्छन्।

अवादीको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु नै उनको गठबन्धन पछाडि पर्नुको प्रमुख कारण रहेको बताइएको छ। गत फेब्रअरीमा अन्तर्राष्ट्रिय दातृ समूहले इराकको भौतिक संरचनाको पुनर्निर्माणका लागि ३० अर्ब अमेरिकी डलर आवश्यक रहेको जनाएको थियो। तर इराकी अधिकारीहरूले भने यसका लागि १ सय अर्ब डलर आवश्यक रहेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्