ब्रिजकोर्सको बेथिति: आवश्यकता कि फेसन?



बाबुकाजी कार्की

ब्रिजकोर्सको उद्देश्य फुर्सदको समयमा विद्यार्थीलाई अलमल्याउनु मात्र नभएर उनीहरूमा भएको अन्तरनिहित प्रतिभाको आविष्कार गरेर उच्च शिक्षाको विषय छनौटका लागि मार्गदर्शन प्रदान गर्नु पनि हो। अभिभावकले पनि छोराछोरीलाई यो र त्यो बन्नुपर्छ भनेर अध्ययनको विषय छनौटमा दबाब दिनु कतिपय अवस्थामा घातक हुन सक्छ। अरूको दबाबको विषयमा पढ्दा बीचैमा पढाइ छाडेर वल्लो घाट न पल्लो तीर भएर उद्देश्यविहीन जिन्दगी जिउन विवश भएका उदाहरण पनि समाजमा बग्रेल्ती पाइन्छ।

किनकि पढ्ने छोराछोरीले हो, अभिभावकले होइन। प्रख्यात खेलाडी, कलाकार, संगीतकार तथा राजनीतिज्ञले विश्वमा आफ्नो भविष्यमात्र सुनिश्चित गरेका छैनन्, कतिपयले आफ्नो संस्कार संस्कृति र समग्र देशलाई नै विश्वमा चिनाउन सफल भएको हाम्रोसामु कैयौं उदाहरण छन्। कुनै पनि विषय ठूलो सानो हुँदैन। छोराछोरीले चाहेको विषय र विधामा अध्ययनको वातावरण बनाएर विशेषज्ञता हासिल गर्ने अवसर प्रदान गर्नु बुद्धिमानी हुन्छ।

अतः विद्यार्थीलाई उच्च शिक्षा करले नभई रहरले पढ्ने सहज वातावरणको व्यवस्थापन गर्नु सरोकार पक्षको दूरदर्शिता हो। अन्यथा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुबाहेक केही हुनेछैन अभिभावकसँग। किनकि त्यति बेलासम्म छोराछोरीको बहुमूल्य समय धेरै घर्किसकेको हुनेछ। विद्यार्थीको पृष्ठभूमिको आधारमा भावी जीवनको तयारीका निम्ति उनीहरूको योग्यता, क्षमता तथा बजारको मागको विश्लेषण गरी सही सल्लाह सुझाव र सोअनुकुलको तयारी गर्नु÷गराउनु ब्रिजकोर्सको प्रमुख ध्येय हुनुपर्दछ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका झन्डै ५ लाख परीक्षार्थी अहिले बेरोजगारजस्तै भएका छन्।

छोराछोरीलाई मह“गो ब्रिजकोर्स पढाउनु भनेको सामाजिक प्रतिष्ठाको विषय बन्न थालेको छ। ब्रिजकोर्स आवश्यकता हो कि फेसन ? खुट्याउन सर्वसाधारणलाई कठिन भएको छ। साथीभाइको अगाडि ब्रिजकोर्समा नपढेमा विद्यार्थी स्वयंलेहीनताबोध महसुस गर्ने मानसिकता हाबी भएको देखिन्छ।

विद्यालय तहको शिक्षा पूरा गरी उच्च तहको अध्ययनमा प्रवेश गर्न खुट्टा उचालेका यिनीहरूमा आगामी शिक्षा र शिक्षण संस्थाबारेमा कौतुहलता हुनु स्वाभाविकै हो। तसर्थ १० वर्षभन्दा बढी समय विद्यालयको निश्चित् दायराको अनुशासनबाट भर्खरै बाहिर आएका अल्लारे उमेर १५–१६ वर्षका विद्यार्थीका गतिविधिलाई सकारात्मक दिशातर्फ उन्मुख गराउनुपर्ने हुन्छ। यस उमेरका बालबालिका स्वभावैले चञ्चले र अपरिपक्क हुन्छन् नै।

मनोवैज्ञानिकका भनाइअनुसार यस उमेरलाई ‘स्ट्रोमी एन्ड स्टे«स’ भनिन्छ। जसअनुसार छिट्टै रिसाउने, कुनै कुरामा चाँडै विश्वास गरेर निर्णय लिने तथा आफूले चाहेको कुरा तत्काल पूरा नभएमा उत्तेजनामा आउने एवं परिणामको ख्यालै नगरी काम गर्न अग्रसर हुनु सामान्य मानिन्छ। आफ्नो चाहना अनि साथीभाइको संगत र लहैलहैमा लागेर नकारात्मक काम गर्नसमेत पछि नपर्ने चरित्र हो यो उमेरेको।

स्वभावैले उनीहरू आफ्नो चाहना पूरा गर्न÷गराउन अनेक तिकडम र जिद्दी गर्न पछि पर्दैनन्। एसईईको नतिजा नआउन्जेल करिब अढाई महिना परीक्षार्थीको समयको यथोचित व्यवस्थापन गर्न अभिभावक र पूर्व विद्यालयको चिन्ता र चासोको विषय बन्नुपर्दछ।

अचेल विद्यार्थीको वर्तमान र भविष्यको शिक्षालाई जोड्न ब्रिजकोर्स महिमाको प्रचारप्रसार विभिन्न सञ्चारमाध्यममा बग्रेल्ती देख्न र सुन्न पाइन्छ। फुर्सदको समयलाई उपयोग गर्ने यस्ता कोर्सलाई सकारात्मक नै मान्न सकिन्छ। तर, चाउचाउ र पत्रिका व्यापारको बजार विस्तार गर्ने शैलीमा शहरका चोकचोकमा घुम्ती स्टल राखेर ब्रिजकोस भर्ना अभियान सञ्चालनले कोर्सको स्तरीयताका बारेमा शंका उब्जिनु स्वाभाविकै हो।

अहिले ब्रिजकोर्स कोचिङ र ट्युसनको पर्यायका रूपमा सीमित लगानी गरेर कमाउ धन्दाको माध्यम बनेको आरोप खण्डन गर्ने भरपर्दो आधार र हिम्मत छैन सञ्चालकहरूसँग। ब्रिजकोर्स सञ्चालनका लागि आवश्यक मानवीय तथा भौतिक साधान–स्रोत पर्याप्त छ कि छैन? सञ्चालक र सम्बन्धित निकाय तथा अभिभावक चनाखो हुनुपर्दछ। ब्रिजकोर्सका विषयवस्तु विद्यार्थीको भावी अध्ययनलाई टेवा पुग्ने खालका छन् त? सरोकार पक्ष प्रत्यक्ष अनुगमन र अवलोकनबाट ढुक्क हुनुपर्दछ।

काठमाडौंलगायत देशका विभिन्न शहरी क्षेत्रमा धमाधम खोलिएका ब्रिजकोर्सको कानुनी हैसियत अन्यौलमा छ। सञ्चालकहरू पढाउने विषयको कोर्स, पढाइ शुल्क तथा संस्थाको स्थायित्वबारेमा विवादरहित छैनन्।

छोराछोरीलाई महँगो ब्रिजकोर्स पढाउनु भनेको सामाजिक प्रतिष्ठाको विषय बन्न थालेको छ। ब्रिजकोर्स आवश्यकता हो कि फेसन? खुट्याउन सर्वसाधारणलाई कठिन भएको छ। साथीभाइको अगाडि ब्रिजकोर्समा नपढेमा विद्यार्थी स्वयंले हीनताबोध महसुस गर्ने मानसिकता हाबी भएको देखिन्छ। विद्यार्थीको सहज पहुँचको सुनिश्चित गर्दै स्तरीय पठनपाठन गर्न ब्रिजकोर्सको नियमन र व्यवस्थापन समयमा नै हुनुपर्दछ। अतः सरकारले समयमा नै अनुगमन, निरीक्षण गरी ब्रिजकोर्सलाई कानुनी दायरामा ल्याउन हिचकिचाउनु हुँदैन।

१० वर्षभन्दा लामो समयसम्म विद्यालयमा निरन्तर पढेका विद्यार्थीका लागि एसईई रिजल्ट कुरुन्जेलसम्मको समय ब्रिजकोर्सको विकल्पका रूपमा अन्य रचनात्मक काममा पनि खर्चिन सकिन्छ। विद्यार्थीले अध्ययन गरेका सैद्धान्तिक ज्ञानलाई ऐतिहासिक स्थान तथा प्रख्यात तीर्थस्थलको अध्ययन भ्रमणको अवसरबाट उनीहरू व्यवहारिक ज्ञानको कसीमा दाँजेर वास्तविकताको अनुभव र अनुभूति गर्न सक्छन्।

विभिन्न स्थान, जातजाति, धर्म, संस्कार, संस्कृतिको प्रत्यक्ष अवलोकन र सहकार्यबाट जीवन र जगत्लाई नजिकबाट बुझ्न मद्दत गर्दछ। त्यस्तै समाज र समुदायमा गरिने सामाजिक कार्यहरू सरसफाइ, स्वास्थ्य शिविर, वृक्षारोपण, असहाय बालबालिका, वृद्ध तथा अपांगहरूको हेरचाहजस्ता मानवीय कार्यबाट आर्जन हुने ज्ञान र सीप दिगो र ब्रिजकोर्सभन्दा कुनै अर्थमा कम हुँदैन।
(लेखक कार्की पूर्व जिल्ला शिक्षा अधिकारी हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्