गणपति कटन उद्योगमा लफडा



विराटनगर, (नेस)
विराटनगरस्थित रानी मिल्स् एरियामा रहेको गणपति कटन उद्योगको क्वाटरमा २३ वर्ष अघिदेखि बसोबास गर्दै आएका मजदुरहरूले मिलको रेखदेख गर्दै आएका कृष्ण थापालाई दुव्र्यवाहर गरेका छन्। २३ वर्षदेखि क्वाटरमा तलब नै नपाई बस्दै आएका मजदूरलाई हटाउन खोजेको भन्दै आक्रोशित मजदूरले थापालाई नालाको हिलो नै शरिरभरी छ्यापिदिएका हुन्।

श्रीबंशीधर इष्ट्रिज युनिट गणपति कटन मिल बन्द हुनु अगाडिदेखि नै मिलको क्वाटरमा मजदूरहरू बस्दै आएका थिए। अहिले मिल बन्द भएको करिब २३ वर्ष भइसक्यो। मजदूर तलब नै नपाई मिलको क्वाटरमा रेखदेख गर्दै आएका छन्। बन्द भएको मिलको जग्गा अहिले गायत्री डेभलपर्स कम्पनीले किनेको छ। गायत्री डेभ्लोपर्स कम्पनीका प्रतिनिधि र उद्योगको रेखदेख गर्ने थापाको नेतृत्वमा शनिबार विहान आएको टोलीले मजदूर बस्दै आएको जग्गा नाप्न थालेपछि क्वाटरमा बस्दै आएका मजदूरले थापालाई दलाली भन्दै नालाको कालो हिलो अनुहारमा छ्यापीदिएका हुन्।

श्रीवंशीधर इष्ट्रिज युनिट गणपति कटन मिल संघर्ष समितिलाई कुनै जानकारी नदिई शनिबार विहान एक्कासी क्वाटरमा प्रवेश गरेपछि आक्रोशित मजदूरले जग्गा नाप्न आएको टोलीमाथि नै जाइलागेका थिए। गायत्री डेभलपर्सले क्वाटरको कम्पाउन्ड खाली गर्न भनेर यसअघि नै ३५ दिने सूचना जारी गरेको थियो। मिलको क्वाटरमा बस्दै आएको र अहिले अचानक हटाउन लाग्दा विचल्लीमा पर्ने भएकाले आफूहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै मजदूरहरू माग छ।

दुई सयको हाराहारीमा रहेका मजदुर तथा कर्मचारीले २३ वर्षदेखि तलब पाउन सकेका छैनन्। अहिले क्वाटरलगायत मिलको कम्पनीको खाली जमिनमा ६२ घरपरिवार बसोबास गर्दै आएका छन्। करिब १ विगा ६ कठ्ठा २ धुर जमिन रहेको स्थानमा अहिले पुराना ढल्न लागेको क्वाटर छन् भने आधा दर्जनले त्यही क्वाटरको खाली जमिनमा घर बनाएर बसेका छन्।

प्रतिक्रिया दिनुहोस्