सगरमाथामा भए विभिन्न रेकर्ड ३ सय आरोही चुचुरोमा



दीपेन्द्र थापा, काठमाडौं
यस वर्षको जारी सिजनमा शनिबारसम्म ३ सय ५ जनाले सगरमाथाको चुचुरोमा पाहिला टेकेका छन्। यस वर्षको पहिलो आरोहण ८ जना शेर्पा पथप्रर्दशकले बाटो बनाउँदै वैशाख ३० गते सगरमाथाको आरोहण गरेका थिए।

नेपालतर्फको दक्षिणी मोहडाबाट बाटो बनाउँदै शेर्पाहरूको टोली चुचुरोमा पुग्न सफल भएका थिए। दोस्रो दिन वैशाख ३१ गते ३९ जना, जेठ २ गते ४९ जना बिहीबार ९४ जना, जेठ ३ गते ६५ जना र शनिबार ५० जनाको हाराहारीमा सगरमाथा आरोहण गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

यस वर्ष २२औं पटक सगरमाथा आरोहणमा गर्दै कामिरीता शेर्पाले बुधबार विश्व कीर्तिमान कायम गर्नु भएको छ। शेर्पाले २१ पटक सगरमाथाको आरोहण गरेका आप्पा शेर्पाको रेकर्ड तोड्दै सोलुखुम्बुका शेर्पाले ४८ वर्षको उमेरमा २२ पटकको सफलता पाउनु भएको हो।

यस्तै गोरखाकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले समेत शनिबार सगरमाथाको आरोहण पूरा गर्नुभएको छ। ‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने नाराको साथ बिहीबार दिकी शेर्पाले समेत सगरमाथाको चुचुरो पाइला टेक्नु भएको छ। यस्तै दुवै खुट्टा गुमाएका चिनियाँ नागरिकले समेत सगरमाथाको आरोहण गरेका छन्। चारपटकको प्रयासपछि दुई वटै कृत्रिम खुट्टाको सहायताले जिया बोयुले गत सोमबार विहान सगरमाथा आरोहण गरेका थिए। नेपाली मोहोडाबाट कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्ने पहिलो नागरिक भएको बुझिएको छ।

यसैगरी लाक्पा शेर्पाले धेरैपछक सगरमाथा चढ्ने महिला आरोहीको रेकर्ड बनाउनु भएको छ। उहाँले आफ्नै रेकर्ड तोड्दै उक्त रेकर्ड बनाउनुभएको हो। शेर्पाले ९ पटक सगरमाथा आरोहण गरेर उक्त रेकर्ड बनाउनु भएको हो। शेर्पाले सन् २००० मा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो।
पर्यटक विभागका अनुसार यस वर्ष वैशाख २१ गतेसम्म १ सय ४ समूहले विभिन्न हिमाल आरोहणको लागि अनुमति लिएका छन्,जस्मा ८ सय ३८ जना संलग्न रहेका छन् भने सगरमाथाको लागि ३४ समूहमा ३ सय २६ विदेशी र ४ नेपाली समूहसहित २० जनाले आरोहणको लागि अनुमति लिएका छन्। धौलागीरी हिमालमा ३ समुहसहित ३४ जना, लोत्सेमा १ सय ७ जना, मकालुमा २७ जना, मुस्ताङमा ५० जनाले अरोहणको अनुमति लिएका छन्।

विभागका अनुसार गत वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या हालसम्मकै बढी नेपाली मोहोडाबाट ४१ वटा आरोहण दलका ३ सय ७५ जनाले सगरमाथाका लागि मात्रै अनुमति लिएका थिए। सगरमाथा आरोहणका लागि विदेशीले सगरमाथा आरोहण अनुमति लिन प्रतिव्यक्ति ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपियाँ रोयल्टी तिर्नुपर्नेछ। सगरमाथा आरोहणका लागि बढीमा १५ जनासम्मको समूह बनाउन पाउने व्यावस्था रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्