मार्जिन ट्रेडिङ कार्यविधि पास, अब सिधैं ब्रोकर कम्पनीमार्फत कर्जा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि पारित गर्दै तत्काल सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई निर्देशन दिएको छ। अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले गतवर्ष कार्तिक २० गते मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो।

सोही निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जलाई मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाउन पत्राचार गरिए बमोजिम नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यविधि बनाई बोर्डमा पेस गरेपछि त्यसमा आवश्यक सुधार गर्दै नेप्सेलाई कार्यान्वयनका लागि पठाएको छ। उक्त कार्यविधि कार्यान्यनमा ल्याउन बोर्डले जेठ ३ गतेको निर्णय बमोजिम निर्देशन दिएको हो।

कार्यविधि पारित भएसँगै पुँजीबजारका लगानीकर्ताले शेयर किन्दा ब्रोकरबाट समेत ऋण पाउन सक्नेछन् भने यसअघि मार्जिन कर्जाका लागि लगानीकर्ताले बैंकसम्मै पुग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ। अब लगानीकर्ताले शेयर कर्जाको प्रक्रिया सिधै ब्रोकर कम्पनीमार्फत कर्जा लिन सक्नेछन्। धितोपत्र बोर्डले गत वर्ष जारी गरेको मार्जिन कारोबारसम्बन्धी निर्देशन २०७४ बमोजिम मार्जिन कारोबारको सुविधा दिने ब्रोकर कम्पनीको कुल सम्पत्ति कम्तीमा ५ करोड हुनुपर्ने बाध्यकारी प्रावधान तोकिएको छ। तर, यस विषयमा केही ब्रोकरले विरोध जनाउँदै आए पनि बोर्डले त्यस कुरालाई संशोधन भने गरेको छैन।

ब्रोकर कम्पनीले आफ्ना नेटवर्थको दुई गुणासम्म मार्जिन कारोबार कर्जा उपलब्ध गराउन सक्नेछन् भने नेप्सेमा सूचीकृत कम्पनीको ६ महिनाको औसत मूल्य वा बजार मूल्यमध्ये कम भएको रकमको ५० प्रतिशत बराबर रकम कर्जाग्राहीसँग प्रारम्भिक मार्जिनका रुपमा लिनसक्ने प्रावधान छ। त्यसैगरी १० हजारभन्दा बढी शेयर लगानीकर्ता आबद्ध भएको, कम्पनीको नेटवर्थ सकारात्मक भएको, पछिल्ला २ आर्थिक वर्षमा कम्तीमा १० प्रतिशतभन्दा बढी लाभांश बाडेको कम्पनीका लगानीकर्तालाई मात्र ब्रोकर कम्पनीले मार्जिन कर्जा पाउन सक्नेछन्।

बोर्डको निर्देशन बमोजिम नेप्सेले तत्काल कार्यविधि कार्यान्वयमा ल्याउने र सोबाट धितोपत्रको दोस्रो बजारमा नयाँ अध्याय थपिने विश्वास लिइएको छ। दक्षिण एसियाका कतिपय मुलुकमा समेत कार्यान्वयनमा आइनसकेको यो सुविधाबाट दोस्रो बजारको तरलतामा अभिवृद्धि हुने, लगानीकर्तालाई शेयर खरिद बिक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरासमेत फराकिलो हुन गई धितोपत्र कारोबार बढी गतिशील हुन मद्दत पुग्ने धितोपत्र बोर्डले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्