जनप्रतिनिधिद्वारा नै प्रकृतिको अवैध दोहन



नेपाल समाचारपत्र
काठमाडौं
मोरङको केरावारी गाउँपालिकास्थित खदम खोलाको प्राकृतिक स्रोत प्रयोग गर्ने गरी स्थापना भएका तीन क्रसर उद्योगले उत्खनन् गर्न मिल्ने परिमाणभन्दा तीन गुणा बढी ढुंगागिट्टी निकालेको पाइएको छ। जनप्रतिनिधिहरू नै ढुंगागिट्टि उत्खनन् गर्ने क्रसर उद्योग सञ्चालक भएकाले प्राकृतिक स्रोतको व्यापक दोहन भइरहँदा पनि स्थानीय तह मौन छ।

करोडौंको स्रोत चोरी तस्करी गर्ने कार्यमा जनप्रतिनिधि आफैं जुटेपछि स्थानीय भने निरास र आक्रोशित छन्। ठेकेदारबाट प्रभावित भएर जिल्ला समन्वय समिति र जिल्ला प्रशासनले पनि अवैध काम रोक्न चासो नदिएको स्थानीयको गुनासो छ। केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की पुराना क्रसर व्यवसायी हुन्। त्यस्तै वडा नम्बर ३ का अध्यक्ष भक्त श्रेष्ठ, वडा नम्बर ८ का मनोज खड्का र वडा नम्बर १० का जंग खवासले खदम खोलामा क्रसर उद्योग स्थापना गरेका छन्। अध्यक्ष कार्कीको कृष्ण क्रसर, श्रेष्ठको शिव र वडाध्यक्षद्वयको महादेव क्रसर उद्योग रहेको छ।

मापदण्डविपरीत चुरे तथा खोला क्षेत्रमा स्थापना भएका ती क्रसर उद्योगले व्यापक रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी बिक्री गरिरहेका छन्। जिल्ला समन्वय समितिले तोकेको परिमाणभन्दा धेरै उत्खनन् गरेर दुरुपयोग गरेको भन्दै स्थानीयले नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ महिना अघि उजुरी दिएका थिए। उजुरीपछि आएको छानविन टोलीले तीन गुणा बढी उत्खनन् गरेको प्रतिवेदन दिए पनि थप कारबाही भएको छैन। चुरे खदम संरक्षण समितिका अध्यक्ष बलबहादुर भुजेलले खदम खोलाको अवस्था भयावह भइसकेको बताउनुभयो। उहाँले जनप्रतिनिधि नै खोलाको स्रोत व्यापक दुरुपयोग गरेर आर्जन गर्न लागेपछि पर्यावरणमा प्रतिकूल प्रभाव मात्र परेको छैन। खोला किनारका दुवै वस्ती खेतीयोग्य जमिन सुख्खाग्रस्त भएको बताउनुभयो।

खोला गहिरिएपछि पानीको लेवल तल झरेको छ भने खोला छेकेर खेतमा सिंचाइ गर्ने किसानले पम्पबाट पानी तान्नुपर्ने भइसकेको छ। यस्तो अवस्था ल्याउन जनप्रतिनिधिहरू जिम्मेवार रहेको भन्दै स्थानीयले निरन्तर विरोध गर्दै आएका केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बूले पनि खोलाको अवस्था अत्यासलाग्दो भइसकेको भन्दै जनप्रतिनिधिकै कारण अवैध धन्दा नियन्त्रण गर्न नसकेको निरिहता प्रकट गर्नुभएको छ। गाउँपालिकाका जनप्रतिनिधिहरूले नै चलाएको उद्योग भएकाले पनि दुरुपयोग नियन्त्रण गर्न आफूहरूलाई कठिन भएको उहाँको भनाइ छ।

खोलामा भइरहेको स्रोत दुरुपयोग रोक्नुपर्छ भन्दा विकास ठप्प पारेर विकास विरोधीको रुपमा चित्रित गरिदिने प्रयास हुने गरेको उपाध्यक्ष लिम्बूले बताउनुभयो। गाउँपालिका अध्यक्ष कार्कीले आफ्नो पदको दुरुपयोग गरेको भन्दै स्थानीय आक्रोशित छन्। नियमन गर्ने अधिकार पाएका मोरङका जनप्रतिनिधिहरू आफंैले क्रसर उद्योग संचालन गरेर स्रोतको अवैधानिक उत्खनन् गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्