यात्रा संस्मरण, उग्रवादको हौवामा “अक्षरधाम”



मोहन दुवाल
केही वर्षअगाडि ओम शान्तिको धार्मिक यात्रामा जाँदा बाटो परेर हामी दिल्लीमा केहीक्षण ओर्लिएका थियौं। दिल्लीमा बिहानको खाना फुटपाथमा उभिएर भारतीसँगै खाएको सम्झना सधैँ मनमा आइरहन्छ। २०७४ सालको माघ महिनाको तीन दिन पनि नयाँ दिल्लीमा हामी रमाउने भयौं। ४२ जना हामी बौद्ध तीर्थयात्रीहरू नेपालदेखि रमाउँदै बुद्ध विहारभित्रका सौम्य, कञ्चन, शान्त वातावरण छाम्दै दिल्ली पुग्न हतारिएका छौं। अर्थात् दिल्लीतर्फ लम्किरहेका छौं। रिजर्भ गरिएको बस भएकोले हामी निर्धारित समयमा तोकिएको ठाउँहरूमा पुग्न पाइरहेका छौं। आज दिल्लीमा हामी पुग्दा ६ः३० बजिसक्यो। दिल्लीमा बस्ने टुङ्गो मिलाइएको थिएन रहेछ। हामी मोहनकुमार श्रेष्ठ र म पनि भ्रमण दलका प्रमुख डा. अनोजासँग बसबाट बाहिर निस्क्यौं। र, निवासको टुङ्गो लगाउन सँगसँगै बढ्यौं। अँध्यारो खस्न शुरू भइसकेको छ दिल्लीमा। नयाँ दिल्ली अत्यन्तै व्यस्ततामा आफूलाई घोलेर बिजुलीको प्रकाशमार्फत अँध्यारोमा मन साट्न खोजिरहेको जस्तो प्रतीत भयो। रातको बखतमा निकै व्यस्त रहेको दिल्लीमा हामी यत्रतत्र बासको खोजीमा भौतारिरह्यौं।

नजिकै रहेको हिन्दु धर्मशाला हेर्न गयौं। उक्त धर्मशाला रमणीय लागेन मात्र होइन, देख्दैमा फोहोरको कन्टेनरजस्तो लागेर हामी त्यस निवासमा रहने भएनौं। आयोजक समूहका एकजना सक्रिय भाइ जगतनारायण मानन्धर दिल्लीमै बसोबास गर्दै आएका बनेपाका एकजना भाइ सँगसँगै भएर यताउता बासघर खोज्न हस्याङफस्याङ गर्दै छन्। हामी ४ जनाबाहेकका ३८ सौं जना यात्रुमनहरू छटपटिँदै दिल्लीको एउटा कुनामा नियास्रोलाग्दो अँध्यारो मन बोकेर बसमै प्रतीक्षारत रहेका छन्।

डा. अनोजा, मोहनकुमार श्रेष्ठ र म छटपटीमा मन राखेर जगत भाइहरूलाई दिल्लीको सडकको एउटा कुनामा पर्खिराखेका छौं। जगत भाइहरू आइपुगेका छैनन्। हामी पनि छटपटीमा के गरौं, कसो गरौंको ‘मूड’मा हराइरहेछौं। केही बेरपछि बससम्म पुगेर सबैलाई स्थितिको जानकारी गरौं भनी मोहन दाइ र म बस रहेको ठाउँमा जान खोज्यौं। बाटो ढाकेर रेल रोकिराखेको छ। बाटो छैन।

रेलमाथि चढेर बाटो काट्ने मात्र एउटा उपाय छ। त्यही उपायमा टुङ्गो मिलाएर रेल चढेको मात्र थिएँ, रेल त घ्याटक्याट घ्याटक्याट गर्न थाल्यो। हाम्रो त सातो उड्यो। के गर्ने, कसो गर्ने, सोच्न नै सकेनौं। एउटै उपाय छ रेलको ढोकाबाट हाम फाल्ने। म हाम फाल्न थालेँ। मोहन दाइले मलाई पछाडितिर समातेर नओराली दिएको भए म कंकडको बाटोमा घिस्रिएर घाइते हुन्थें। तै घाइते भइएन। दैव संयोगले बचेँ। रेलको यो अपर्झटको यात्रामा घाइते हुनुपरेन। हामीलाई पर्खेर बसेका बसका मित्रहरूलाई ढाडस दिँदै बासस्थान व्यवस्था मिलाउन खोज्दै छन् केही क्षण धैर्य लिन भनियो। अधिकांश महिला रहेको हाम्रो यात्रा टोलीका मित्रहरू बसमा धैर्यतापूर्वक बसिरहेका रहेछन्। बाध्य छन्, बाध्य छौं, कतै घुमफिर गर्ने वातावरण र परिस्थिति पनि भएन।

अर्को ठाउँमा बस्ने टुङ्गो मिलाइसकेको थाहा भयो। हामी गन्तव्यमा पुग्न बस चढ्यौं। केही क्षणपछि ड्राइभरले बस गन्तव्यमा पु¥याइदियो। हामी बस्ने घर टाढैबाट टाढैबाट हामीले नियाल्यौं। बस रोकियो। आफ्ना सामानहरू कोचिएका लगेजहरू तान्दै, बोक्दै हामी दिल्लीको बास–घर छि¥यौं। ४ जना हामी एउटै कोठामा बस्ने चाँजोपाँजो मिलाइयो। तल–माथि तल्लामा ठाउँ–ठाउँमा धेरै चर्पीहरू भएको कारणले अट्याच बाथरुम नभए पनि समस्या भोग्नुपरेन।

खाना पकाउने मित्रहरूले खाना पाकिसकेको सूचना गरेको कारणले आ–आफ्नो थाल, गिलास बोक्दै लामबद्ध भयौं। दिल्लीको रातको सुनसानमा पनि हामी नेपाली बौद्ध तीर्थयात्रीहरू नेपाली खाना खाँदै रमायौं। भारत छिरेदेखि बाहिर कतैको होटेलहरूमा हामीले खाना खाएनौं। दिल्ली पुग्दासम्म पनि हाम्रो खाना खाने क्रम यस्तै–यस्तै रह्यो। अर्थात् नेपाली खानामा नै हामी रमायौं। रात छिप्पिसकेको छ। सबै सुत्ने तरखरमा लागेको कारणले हामी चारजना पनि निन्द्रादेवीको शरणमा पुग्न आ–आफ्नो खाटमा पल्टिँदै आँखा चिम्ल्यौं अर्थात् कुराकानी बन्द ग¥यौं। यसरी एकरात दिल्लीमा बितायौं।

विहान निद खुल्यो। ७ः३० तिर एकचक्कर दिल्ली घुम्ने समय मिलाइएकाले नजिकै रहेका मठ–मन्दिरहरू चहा¥यौं। निकै व्यवस्थित गरेका देखिँदा छन् मन्दिरहरू। सुरक्षित सिँढी, बाटा र कोठाहरू देखिँदा भन्न मन लाग्छ– किन हाम्रा मन्दिरभित्रका देवताहरू फोहोर देखिँदा छन् ? अक्षता चढाउने, धूप बाल्ने, मुद्रा फाल्ने र अबिर दल्ने परम्पराले मुक्त बनाइएकै कारणले यहाँका मठ–मन्दिरहरू सुन्दर देखिँदा छन्। जहाँ पुगे पनि यही परम्पराले देवताहरूलाई मनोरम तुल्याइएको देखिन्छ। यस खालको सुन्दर काम÷कुरो हामीले पनि छिमेकी मित्रहरूसँग सिक्ने पो हो कि ? बिहान घुम्दा मनले टिप्न पाएका यी कुराहरू मन–मनमा राखेर हामी निवासघर फक्र्यौं। बिहानको खाना खाइयो। रमाइलो र मनोरम लाग्दै आयो दिल्ली बसाइको।

दिउँसो ऐतिहासिक ठाउँहरू घुम्ने टुङ्गो मिलाइएको रहेछ। खानापछि दिल्ली घुम्न हामी निस्क्यौं। नयाँ दिल्ली भारतको अन्य शहरबजारभन्दा निकै व्यवस्थित तुल्याउन खोजेको बृहत् ‘शहर’ मानिन्छ। हामीकहाँजस्तो मोटरबाइकहरूको भीड नदेखिएकोले तथाकथित जाम त्यति भोग्नुपरेन। बाटाघाटाहरू सफा छन्। दायाँबायाँ दिल्लीको सबैजसो ठाउँमा हरियाली रुखहरू लमतन्न उभिराखेका छन्। हावा सरसर बहँदो छ। सुन्दर नगरलाई रुखको छहारीले अझ सुन्दरता थपिदिएको छ। माघको महिना भएकोले जाडो पनि त्यति महसुस भएन र गर्मीको ताप पनि सहनुपरेन। माघको यो महिना ठीककै मौसम लाग्यो। मैले यस्तै महसुस गरेँ। आज दिउँसो दिल्ली घुम्न जाने चाँजोपाँजो मिलाइएकोले मन र आँखामा दिल्ली राखेर हामी दिल्लीको यत्रतत्र घुम्न थाल्यौं।

भारतको राजधानी। यमुना नदीको तटमा रहेको विशाल सुन्दर नगर। ऐतिहासिक नगर दिल्लीमा धेरै खालका ऐतिहासिक र रमणीय ठाउँहरू छन्। जहाँ पुग्दा एकखालको आनन्द अनुभूति प्राप्त हुन्छ। लालकिल्ला शाहजहाँद्वारा निर्मित राता ढुङ्गाहरूबाट बनेको अजङ्गको दरबार। दुई किलोमिटर ठाउँ ओगटेको १७ औं शताब्दीमा निर्माण भएको यस दरबार किल्ला परिसरभित्र पुग्दा भारतको प्राचीन इतिहासको गौरवमय किल्लाजस्तै प्रतीत हुन्छ। १९४७ अगस्ट १७ मा यसै किल्लाभित्र पण्डित जवाहरलाल नेहरूले राष्ट्रिय झन्डा फहराएका थिए।

आजपर्यन्तसम्म यही परम्परा कायम छ। भित्र–बाहिर सबै ठाउँमा हामी पुग्यौं। सिंगो भारतको प्राचीन इतिहास गर्वले लिपिबद्ध भइरहेको जस्तो पो देखियो। अनौठो दरबार–किल्ला हेरियो। कुटुब मिनार, बिरला मन्दिर, जामा मस्जिद, इन्डिया गेट, हुमाँयुको दरबार, राष्ट्रपति भवन, राजघाट, जन्तरमन्तर भवन, अक्षरधामहरू हेर्नलायकका ऐतिहासिक थलोहरू हुन्।
अक्षरधाम आधुनिक कला–कौशलको सुन्दर धाम मानिन्छ। यमुना नदीकै छेउमा व्यवस्थित ढङ्गले ५ वर्ष लगाएर स्वामी नारायणको स्मृतिमा बनाइएको यस अक्षरधाम अभिनव–संस्कृतिकै सुन्दर तीर्थस्थलको रूपमा प्रख्यात छ। भारतीय कला, संस्कृति, चिन्तन, मूल्य र मान्यताकै आधारमा सिर्जित यस अक्षरधाम सन्तविभूति प्रमुख स्वामी महाराजद्वारा सिर्जित सौन्दर्यकै मनोरम आधुनिक मन्दिर मानिन्छ। १०० एकड भूमिमा फैलिएको यस मनोरम धाममा हामी पनि रमाउँदै छिर्न खौज्यौं।

निकै कडा सुरक्षामा राखेको उक्त धाममा उग्रवादीहरूको डर र भूत–हौवाको रूपमा कायम छन्। पेटी, जुत्ता, झोला, क्यामेरा, मोबाइल, सबैथोक बाहिर छाड्नुपर्ने र पर्ससम्म पनि छाम्ने परम्परा रहेको उक्त परिसरभित्र छिर्न निकै गाह्रो रहेछ। हामी पनि छिर्न थाल्यौं। तर अचानक एकजना महिलाको चिच्याहट सुनियो। के भयो भन्दै बाहिर ढोकातिर सबैले हेरे। हेर्दा देखियो हाम्रै समूहका एकजना महिलामाथि ४–५ जना सुरक्षाकर्मीहरूको तानातान भइरहेको र उक्त महिला चिच्याइरहेको देखियो। भएको घटना के रहेछ भने, उक्त महिलाको पर्ससम्म पनि छाम्न थालेपछि उनलाई लागेछ डाँका लाग्यो। त्यसैले उनी बल निकालेर चिच्याएकी रहिछन्। यिनी चिच्याएपछि सुरक्षाकर्मीहरू झन् सशङ्कित हुँदै उनै महिलामाथि तानातान गर्दा रहेछन्। हामी सबैको अनुरोधमा त्यो गाईजात्रे उग्रवादको हौवामा ती महिलाले बल्लतल्ल उन्मुक्ति पाएको सन्दर्भ दिल्लीमा घटेको एउटा अनौठो घटना हो। जुन बिर्सिनसक्नु भयो। भारतको राजधानी नयाँ दिल्ली प्रकृतिमय, सुन्दर, भव्य, ऐतिहासिक देखाउन मिल्ने राजधानीकै भव्य–मुहार र अनुहार देखिँदा छन्। मैले मन–मनमा दिल्लीको सुन्दरताको प्रशंसा गरेँ। दिल्लीको हरियाली मन परेकाले मुक्तकण्ठले तारिफ गरेँ।

तर यसै नगरमा देखिँदा भ्रष्ट पुलिसहरूको खुल्लंखुल्ला घूसखोरी। फटाहाहरूको बिगबिगी। चोर–डाँका–गुण्डाहरूको दादागिरी। ठगहरूको मनोमानी। यी आदि खराब खालका दिल्लीका बासिन्दाहरूको खराब प्रवृत्तिहरू दिल्लीको मुहारमा कालो रङ्गले पोतिएको जस्तो लाग्यो, जुन मेट्न सकेको खण्डमा अझ सुन्दर देखिँदो हो भारतको राजधानी नयाँ दिल्ली।

प्रतिक्रिया दिनुहोस्