प्रदेशसभा सदस्यले कर्मचारी कुटे



सोम दियाली, सर्लाही । वडाको योजना रोकेको भन्दै कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव माथि प्रदेश सभा सदस्यले दुव्र्यवहार गरेका छन् । अधिकृत श्रीवास्तव माथि सर्लाही क्षेत्र नम्बर ३ ख मा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका प्रदेश सभा सदस्य संजय यादवले दुव्र्यवहार गरेको प्रशासकीय अधिकृत श्रीवास्तवले टेलिफोन मार्फत बताए । अधिकृत श्रीवास्तवका अनुसार कविलासी नगरपालिका वडा नम्बर १० सनमपुरका विभिन्न ७÷८ ओटा योजनाहरु पास नगरेको भन्दै साँसद यादवले दुव्र्यवहार गरेका हुन् । ती योजना मेयर कौशलकिशोर यादव बाहेक अरुले सदर गरेर नहुने भए पनि आफुलाई योजनामा जवरजस्ती सही गराएको अधिकृत श्रीवास्तवले बताए ।
यता प्रमुख प्रशासकीय अधिकृत माथि दुव्र्यवहार भएको भन्दै स्थानीय तह कर्मचारी संघ सर्लाहीका पदाधिकारीहरुले नगरपालिकामा ३ दिनका लागि तालाबन्दी गरी कामकाज ठप्प पारेका छन् ।
उनीहरुले प्रशासकीय अधिकृत माथि दुव्र्यवहार गर्ने प्रदेश सभा सदस्यले माफी माग्नु पर्ने, राष्ट्रसेवक कर्मचारीहरु माथि हुने ज्यादतीको अन्त्य गरिनु पर्ने, राष्ट्रसेवक कर्मचारीहरुलाई सौहार्दपूर्ण वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नु पर्ने भन्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरि साँचो मेयर कौशलकिशोर यादवलाई बुझाईएको स्थानीय तह कर्मचारी संघ सर्लाहीका अध्यक्ष चित्र विश्वकर्माले बताउनु भयो ।
त्यस्तै कर्मचारीहरुको संघर्षको कार्यक्रममा शिक्षकहरुले पनि समर्थन गरेका छन् । राष्ट्रसेवक कर्मचारीहरु माथि जनप्रतिनिधीहरुले गरेको अभद्र व्यवहार सह्य नभएको भन्दै आफुहरुले पनि प्रशासकीय अधिकृत श्रीवास्तव माथि भएको दुव्यवहारको विरोध गरेको नेपाल शिक्षक संघ २ नम्बर प्रदेश उपाध्यक्ष भाग्य नारायण मिश्रले बताए ।
यस अघि गत वैशाख २ गते पनि मलंगवा नगरपालिकाका वरिष्ठ ईन्जिनियर राजकपुर महतोलाई वडा अध्यक्षहरुले कुटपिट गरेका थिए । यसरी जनप्रतिधीहरुबाटै राष्ट्रसेवक कर्मचारीहरु माथि दुव्र्यवहार हुँदा त्यसले सरकारको समृद्धिको यात्रालाई कता तिर धकेल्ला ? सरकार र सम्बन्धित पक्षले सोच्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्