बल्ल बन्यो नेपाल कम्युनिस्ट पार्टी



मधुसूदन रायमाझी, काठमाडौं
नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण भएको छ। एमाले र माओवादी केन्द्र विघटन गरी नेपाल कम्युनिस्ट पार्टी घोषणा गरिएको हो। एमाले र माओवादी केन्द्रको बिहीबार बसेको बैठकले दुवै पार्टी विघटन गरी कम्युनिस्ट पार्टी गठन गर्ने घोषणा गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै पार्टीको संयुक्त बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टी स्थापना भएको घोषणा गर्नुभएको थियो। कार्यक्रममा नवगठित कम्युनिस्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाउनुभएको थियो।

गत असोज १७ गते दुवै पार्टी संयुक्तरूपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएका थिए। साझा घोषणापत्र लिएर चुनाव लडेका एमाले र माओवादी केन्द्रले गत फागुन ७ गते पार्टी एकताको सात बुँदे आधारपत्रमा हस्ताक्षर गरेका थिए। दुवै पार्टीले वैचारिक, सैद्धान्तिक कार्यदल गठन गरेर गृहकार्य गरेका थिए। वैचारिक र सैद्धान्तिक विषयमा एमालेले अगाडि सार्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गर्दै आएको २१औं शताब्दीको जनवादलाई आगामी महाधिवेशनसम्म बहस र छलफल गर्दै जाने सहमति भएको छ।

संयुक्त केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउनुभएको थियो। संयुक्त बैठकमा माओवादीका तर्फबाट ८६ जना सहभागी भएका थिए। बैठकमा अध्यक्ष प्रचण्डले आपसी समझदारीबाट बाँकी केन्द्रीय सदस्यहरू थपिने जानकारी गराउनुभएको थियो। नेकपाले शान्तिपूर्ण प्रतिस्पर्धा, मानवाधिकार र विधिको शासनलाई सम्मान गर्दै स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्र संघको मूल्यमान्यतालाई आत्मसात् गरी विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने नीति अख्तियार गरेको छ। एकता घोषणा गर्नुअघि नेकपाले निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षरसहितको निवेदन दर्ता गराएको थियो।

जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्दै जाने र पार्टीको निर्देशत सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहने बताइएको छ। राजनीतिक स्थायित्व र दिगो शान्ति कायम गर्दै राष्ट्रिय सुरक्षा र देशभक्तिलाई बढावा दिएर जाने नयाँ पार्टीले लक्ष्य राखेको छ। नेकपाले एकताको महान् अभियानमा सहभागी हुन अरू कम्युनिस्ट पार्टीलाई पनि आ≈वान गरेको छ।
एकीकृत पार्टीको कमिटी गठनका सबै प्रक्रिया तीन महिनाभित्र पूरा गर्ने भएको छ। नेकपाको संगठनमा १० तहका संरचना हुने भएका छन्। सबैभन्दा माथि केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी केन्द्रका संरचना हुनेछन्। त्यसपछि राष्ट्रिय परिषद् रहनेछ। प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तह कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीहरू गठन हुने संरचना बनाइएको छ। पार्टी एकताको २ वर्षभित्र एकता महाधिवेशन गर्ने सहमति भएको छ।

विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो। करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए। अहिलेको नेकपाले ४ सय ४१ जनाको केन्द्रीय सदस्य घोषणा गरेको छ।

४ सय ४१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको नयाँ पार्टी अब नेपालको शक्तिशाली कम्युनिस्ट पार्टी भएको छ। गत निर्वाचनमा पाएको मतको आधारमा ४५ लाख मतदाता भएको पार्टी बनेको छ भने १ सय ७५ निर्वाचन क्षेत्रमध्ये १ सय १६ स्थानमा प्रत्यक्ष निर्वाचन जितेको नेकपा पार्टी बनेको छ। सात प्रदेशमध्ये ६ वटा प्रदेशमा यो पार्टीको सरकार र ७ सय ५३ स्थानीय निकायमध्ये ४५ प्रतिशत नेकपाले निर्वाचनमा जितेको छ।

नौ सदस्यीय सचिवालय गठन
नवगठित नेपाल कम्युनिस्ट पार्टीले नौ सदस्यीय सचिवालय गठन गरेको छ। पार्टीमा ४५ सदस्यीय स्थायी कमिटी रहने भएका छन्। सचिवालयमा अध्यक्षद्वय ओली, प्रचण्ड, वरिष्ठ नेताद्वयमा नेपाल, खनाल, महासचिवमा विष्णु पौडेल, वामदेव गौतम, प्रवक्तामा श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा रहनुभएको छ। एकीकृत पार्टीले माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्ने र तत्कालीन कार्यक्रमका रूपमा ‘समाजवाद उन्मुख जनताको जनवाद’लाई अंगीकार गर्ने नीति लिएको छ। एकता घोषणासभामा वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी हुनुभएन। खनाल केही दिनअघि निजी कामको लागि चीन भ्रमणमा जानुभएको उहाँको सचिवालयले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि मुलुक राजनीतिक स्थायित्व र समृद्धितर्फ जाने अपेक्षा गरिएको छ।

केन्द्रीय कार्यालय धुम्बाराही
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ। पार्टीका जनसंठन र जनसम्पर्कका कामहरू पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो। धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन एमालेको अस्थायी र पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो। शुक्रबार विघटित पार्टीका सूचना पाटीहरू झिक्ने बताइएको छ। निर्वाचन आयोगमा आज दर्ता भएको पार्टीको दर्ता नं ५ हजार ६ सय ६६ रहेको श्रेष्ठले बताउनुभयो।

६ बुँदे घोषणापत्र
नेपाल कम्युनिस्ट पार्टीले ६ बुँदे घोषणा सार्वजनिक गरेको छ। घोषणसभामा वरिष्ठ नेता नेपालले पार्टीका तर्फबाट ६ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको थियो। उक्त घोषणपत्रमा नेकपाको सिद्धान्त माक्र्सवाद लेनिनवाद रहने उल्लेख छ। यस्तै पार्टीको तत्कालीन कार्यनीति समाजवाद उन्मुख जनताको जनवाद रहने उल्लेख गरिएको छ। नेकपाको संगठन माक्र्सवाद लेनिनवादमा आधारित जनवादी केद्रीयता सामूहिक नेतृत्व र जनउत्तरदायी कार्यकर्ता उल्लेख गर्दै घोषणापत्रमा सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा एकताले बल पुग्ने बताइएको छ।


विभाजनको २० हजार ४ सय ४० दिनपछि पुनः एकता
देशका दुई ठूला वामपन्थी घटक एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी पुनर्गठित भएको छ। विसं २०१९ सालमा नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपछि शुरू भएको कम्युनिस्ट घटकको टुटफुट शृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको हो। बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डले मदन–आश्रितको शालिकमा संयुक्तरूपमा माल्यर्पण गर्दै एकीकरणको शुरुआत गर्नुभएको थियो। २०३४ सालमा मोहनविक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो। २०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी अन्ततः एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठका जीवराज आश्रतिको स्मृति दिवस पारेर एकीकृत भए। एकता घोषणा कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य जनार्दन शर्माले विभाजनका २० हजार ४ सय ४० दिनपछि नेपाल कम्युनिस्ट पार्टी एकीकरण भएको जानकारी दिनुभयो। दुई पार्टी एकीकरणपछि बनेको नवगठिन नेकपा पार्टी चीन र भियतनामपछि तेस्रो ठूलो दल बन्न पुगेको छ।

साना कम्युनिस्टलाई ओलीको व्यङ्ग्य

काठमाडौं, (नेस)
नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र एक अर्कामा विलय नभई घोलिएको बताउनुभएको छ।
राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले पुष्पलाल श्रेष्ठले पवित्र उद्देश्य लिएर पार्टी स्थापना गर्नुभएको र आज उहाँ हुनुभएको भए नाच्नुहुने दाबी गर्नुभएको थियो। ‘हामी एक अर्कामा मिसिएका होइनौं, घोलिएका हौं, नेपालमा दुई तिहाइ कम्युनिस्टका लागि सामान्य जोडघटाउको विषय मात्र भइसक्यो’, ओलीले भन्नुभयो– ‘टेम्पो होइन यो, जेट विमानमा २ जना चालक हुन्छन्।’ पार्टीका २ जना अध्यक्ष भएको भनेर आलोचना हुँदै आएपछि ओलीले आफूहरूलाई नै लागेको आरोपको यसरी खण्डन गर्नुभएको थियो।

ओलीले पुराना कुरा बिर्सिएर होला आफू सबैभन्दा बढी आज खुसी भएको बताउनुभयो। उहाँले स–साना पसल थापेर बसेका अन्य कम्युनिस्ट पार्टीलाई एकताको प्रक्रियामा आउन आग्रह गर्नुभयो।

उहाँले सुतली बम पड्काएर हिँड्ने पार्टीलाई पनि व्यङ्ग्य गर्दै यो महान् कार्यमा सहभागी बन्न अनुरोध गर्नुभयो। ओलीले पार्टीमा हिजो गरिएको योगदान, आजको भूमिका र भोलिको सम्भावना हेरेर सबैलाई जिम्मेवारी दिने प्रतिबद्धता गर्नुभयो।

ओलीका अधिकांश शब्द विभिन्न उखानटुक्कामा रमाएका थिए। उहाँले छरिएर रहेका कम्युनिस्टका साथै विपक्षीलाई पनि व्यङ्ग्य गर्न भ्याउनुभयो। एउटा निर्वाचन हार्दैमा नेपाली कांग्रेस अत्तालिएको भन्दै ओलीले २०१५ सालमा कांग्रेसले २ तिहाइ ल्याउँदा र ४ सिटमा कम्युनिस्ट पार्टी सीमित रहँदा पनि आफूहरू नअत्तालिएको बताउनुभयो।

‘आउँदो चुनाव कम्तीमा हामीले तीन चौथाइ मत ल्याउँछौं’, ओलीले भन्नुभयो– ‘यस्तो भन्दा केही मान्छेलाई ठट्टाजस्तो लाग्दो हो, ६ महिनाअघि क–कसलाई के के कुरा ठट्टा लाग्थ्यो?’ ओलीले अब कम्युनिस्ट पार्टी अहंकार, जिद्दी र संकीर्णताबाट मुक्त भएर देश र जनताको हितको पक्षमा समर्पण भएर लाग्ने बताउनुभयो।

ओलीले अधिकांश समयमा कार्यकर्ता तथा शुभचिन्तकको मन तान्ने प्रयास गर्नुभएको थियो। हलमा दिउँसैदेखि मानिसको बाक्लो उपस्थित भएकाले धेरैजसो मानिसहरू बाहिर चौरमा नै बस्न बाध्य थिए। भित्र के भइरहेको छ भन्ने दृश्य बाहिर देख्न पाइँदैनथ्यो। पार्टीका प्रमुख नेताहरू राष्ट्रियसभा गृह प्रवेश गर्दा कार्यकर्ता र शुभचिन्तकले ताली पड्काएर स्वागत गरेका थिए।

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशमा अस्थिरता र अराजकताको युग समाप्त भएको बताउनुभएको छ। एकता घोषणासभालाई सम्बोधन गर्दै उहाँले अब स्थिरता, समृद्धि र सुशासनको युग शुरू भएको प्रस्ट पार्नुभयो। उहाँले सत्तामा पुगेपछि स्खलित हुने नभई जनतासँग भिजेको कम्युनिस्ट पार्टी बनाउने दाबी गर्नुभयो। प्रचण्डले जनआन्दोलन, जनयुद्ध र विभिन्न संघर्षका क्रममा जीवनदान गर्नेहरूप्रति पनि सम्झना गर्नुभयो। ‘हिजो जनयुद्ध हुँदा म पहिला मर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो आज सांसद, मन्त्री र प्रधानमन्त्री हुन पाए हुन्थ्यो भन्ने लाग्छ।’ –प्रचण्डले भन्नुभयो।

‘इतिहासमा धेरै कम्युनिस्ट पार्टीहरूले आन्दोलनका समय ठूलठूला त्याग र बलिदान गरेका छन् तर सत्तामा पुगेपछि भ्रष्ट स्खलित र आदर्शहीन भएको उदाहरण छ’, प्रचण्डले भन्नुभयो– ‘अझै पनि हामीमा पार्टीको नीति, सिद्धान्त र आदर्श छोडेर स्वार्थ परिपूर्ति गर्ने विचार हावी हुँदै छ, यसले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्न सकिँदैन।’

प्रचण्डले विरोधीले मात्र होइन आफैभित्र पनि पार्टी एकता हुँदैन कि भनेर शंका गरिएको गुनासो गर्नुभयो। उहाँले आफू र ओली भएको धेरैवटा कार्यक्रममा कलाकारले व्यङ्ग्य गरिएको पनि सम्झना गर्नुभयो। उहाँले मदन भण्डारी र जीवराज आश्रितको स्मृतिको अवसरमा पार्टी एकता हुनु एउटा सुखद संयोग भएको बताउनुभयो।

कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पृथ्वीनारायण शाहले नेपाल एकता गर्दा साना दुःखले गरेको नभई धेरै दुःख गरेर एकता गरेजस्तै यो एकता पनि संघर्षपूर्णा भएको बताउनुभयो। नेपालले अनेकौं विचार मन्थन गरेर आज कम्युनिस्ट पार्टी स्थापना गरिएको जनाउनुभयो। नेपालले एकतासम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो।

कांग्रेसले भन्यो– शुभकामना छ


काठमाडौं, (नेस)
प्रमुख वामघटक दल नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण गरेपछि नेपाली कांग्रेसले यो एकताले संसदीय व्यवस्थालाई असर नपुगोस् भन्दै शुभकामना दिएको छ।

दुई कम्युनिस्ट पार्टीको एकीकरणपछि नेपाली कांग्रेसका तर्फबाट प्रतिक्रिया दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले शुभकामना दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो एकीकरणले संसदीय व्यवस्थामा अविचलित हुन सफलता मिलोस्।’ साथै उहाँले निर्वाचनका बेला गरेको स्थिरता कायम गर्ने प्रतिबद्धताको परिणाम देखाउनुपर्ने पनि बताउनुभएको छ।

पार्टी एकता गर्ने उद्घोषका साथ सहकार्य गरी निर्वाचनमा होमिँदा एमाले र माओवादीले ५ वर्षसम्म स्थिर सरकार बनाउने प्रतिबद्धता गरेका थिए।

‘कम्युनिस्टहरूको यो एकताले लोकतन्त्रको मूल्य मान्यतालाई उपहास गर्ने प्रवृति हटोस्’, कांग्रेस प्रवक्ता शर्माले भन्नुभएको छ– ‘यसले संसदीय व्यवस्थालाई कुनै असर नपुगोस् र कुनै प्रकारको अधिनायकवादी मनोविज्ञान हावी नहोस्।’ पार्टी एकतालाई स्वागत र शुभकामना दिँदै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि एमाले माओवादी छुट्टछुट्टै बस्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको भन्दै पार्टी एकीकरणलाई नेपाली कांग्रेसको स्वागत र शुभकामना रहेको बताउनुभएको छ।

साथै उहाँले अहिले सत्ता सञ्चालनमा कम्युनिस्टहरू नै रहेकाले पारदर्शी ढंगले सत्ता सञ्चालनमा ध्यान दिनुपर्ने र राज्य संरचनामा पार्टीकरण हुन नहुने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्