५ ठाउँमा सामूहिक कृषि पर्यटन गाउँ स्थापना गरिँदै



हेमन्त जोशी, काठमाडौं
कृषि पर्यटनको विकास तथा प्रवद्र्धन गरी ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यले मुलुकका विभिन्न पाँच स्थानमा ‘कृषि पर्यटन गाउँ’ स्थापनाको काम अघि बढेको छ।

सामूहिक कृषि पर्यटन स्थापनाका लागि सुनसरीको माछामारा, कैलालीको घोडाघोडी, सोलुको पतले, उदयपुरको रौतामाई र नुवाकोटको ककनीमा गरी ५ स्थानमा कृषि पर्यटन गाउँ स्थापनाको तयारी भइरहेको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले बताउनुभयो। यसरी स्थापना भएका कृषि पर्यटन गाउँमा ७५ घर परिवार आबद्ध हुने उहाँको भनाइ छ। ‘हरेक गाउँमा १० देखि १५ घर परिवार समेट्ने गरी ७५ घरधुरीको सहभागितामा सामूहिक कृषि पर्यटन अर्गानिक भिलेज स्थापनाका लागि प्रस्ताव छनोट भई स्थापना कार्य आरम्भ गरिएको छ।’–नेपाल समाचापत्रसँग कुरा गर्दै सापकोटाले भन्नुभयो।

चालू आर्थिक वर्षको वार्षिक विस्तृत कार्यक्रममा निजी क्षेत्रसँगको साझेदारीमा प्रतिस्पर्धामा आधारित अर्गानिक कृषि पर्यटन (अर्गानिक भिलेज) स्थापनाका लागि ५० प्रतिशत अनुदान दिने विषय उल्लेख गरिएको छ। उक्त कार्यक्रम कार्यान्वयन गर्न भन्दै तरकारी विकास निर्देशनालयले ‘कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४’ समेत लागू गरेको छ। तरकारी विकास निर्देशनालयका सूचना अधिकारी खेमराज जोशीका अनुसार यसरी स्थापना गर्न लागिएका कृषि पर्यटन गाउँमार्फत् ग्रामीण क्षेत्रको प्राकृतिक कृषि र पर्यटनलाई जोडेर कृषक घरधुरीको आयस्तरमा वृद्धि गर्ने लक्ष्य लिइएको छ। सरकारी र निजी क्षेत्रको सहभागितामा ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने तथा रोजगारीका अवसर सिर्जना गर्न स्थानिय तहसँगको सहकार्यमा कृषि पर्यटन स्थानहरूको पहिचान गरी यस्ता गाउँ स्थापना गर्न लागिएको जोशीको भनाइ छ।

ग्रामीण क्षेत्रमा प्रमुख रूपमा प्राकृतिक, दिगो तथा जैविक कृषिमा आधारित भई ग्रामीण जीवन, कला, संस्कृति, तथा सम्पदाहरूको संरक्षण र प्रवद्र्धनमार्फत् स्थानिय समुदायलाई आर्थिक एवम् सामाजिक रूपमा लाभ प्रदान गरोस् भन्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो। यस कार्यक्रमअन्तर्गत कृषि पर्यटन प्रवद्र्धन गरिने गाउँ, टोल परिसरको सरसफाई, सुधार, सौन्दर्यकरणका लागि वृक्षारोपण, फूलरोपण, जैविक विविधता झल्कने पार्क निर्माण, पहँुच सडक निर्माण, बाटो र आवास सुधारका लागि मुख्य सडकसँग सहज पहुँचका लागि बाटोको स्तरोन्नति, सडक सुधार सडक बत्ती जडान, प्रवेशद्धार तथा स्वागतद्वार निर्माण, कृषि प्रयटनमा संलग्न कृषक घरधुरीको आन्तरिक तथा बाह्य रूपमा आवास सुधार कामहरू पर्दछन्।

यस्ता गाउँमा आबद्ध घरधुरीले कृषि उपज र पशुपंक्षी उत्पादन तथा व्यवस्थापनका लागि स्थानीय र रैथाने जातका तरकारी, खाद्यान्न, फलफूल, मसला, माछा, मासु, दूध उत्पादनका स्थानीय परिकार र स्थानीय बालीको प्रशोधन र प्याकेजिङ जस्ता क्रियाकलाप सञ्चालन गर्न सक्नेछन्। त्यसैगरी, स्थानिय कला, संस्कृति, भेषभुषा तथा गीत संगीतको संरक्षण र प्रवद्र्धन गरी पर्यटकलाई आकर्षण गर्नका लागि त्यस्ता गाउँमा एक केन्द्रको स्थापना गरी त्यसका लागि बाद्यबादनका सामग्री, मौलिक पहिरनको खरिद गरी उक्त केन्द्रमा राखि उक्त केन्द्रलाई संग्रहालयका रूपमा राखिनेछ।

‘हरेक क्ष्ँेत्रमा फरक कृषि उपज वस्तु, फरक वातावरण, फरक मौलिक संस्कृति तथा रीतिरिवाज र भेषभूषा समेट्ने गरी यस्ता गाउँ निर्माण गर्न लागिएको हो। स्थानिय स्तरमा उपलब्ध वस्तुको प्रयोग र रैथाने संस्कृति झल्किने गरी यस्ता गाउँ निर्माण गरिनेछन्।’ जोशीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो। छनोट भएका पाँचवटा गाउँलाई हाल पर्यटनका क्षेत्रमा निकै आकर्षित ठानिएको होमस्टेको मोडलकै समानान्तर बस्तीका रूपमा बुझ्न सकिने जोशीको भनाई छ। यस्ता गाउँ स्थापनाका लागि हाल प्रतिगाउँ २५ लाख रुपियाँ बराबर सरकारी अनुदान र सोही परिमाणमा स्थानिय घरधुरीको लगानी रहने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्