भेनेजुयलाको कारागारमा राजनीतिक बन्दीको आन्दोलन



काराकास, (एजेन्सी)
भेनेजेयुलाको एउटा सबैभन्दा खतरनाक कारागारमा थुनिएका राजनीतिक बन्दीहरूले आन्दोलन शुरू गरेको बिहीबार तिनीहरूका आफन्तले बताएका छन्। एल हेलिकोइडेस्थित भेनेजुयलाको गुप्तचर सेवाको मुख्यालयमा तिनीहरूलाई थुनिएको थियो।

तिनीहरूले कारागारका केही भाग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन्। एकजना राजनीतिक बन्दीलाई शारीरिक यातना दिइएको थाहा पाएपछि तिनीहरू आन्दोलनमा उत्रिएका थिए।

राजनीतिक दबाब समूह फोरो पेनालका अनुसार भेनेजुयलामा अहिले ३ सय जनाभन्दा बढी राजनीतिक बन्दी रहेका छन्। तर हेलिकोइडेमा भइरहेको यथार्थ स्थितिबारे कुनै आधिकारिक सूचना बाहिर आएको छैन।

राजधानी काराकासको मध्यभागमा रहेको पूर्व विशाल सपिङ सेन्टरमा भेनेजुयलाको गुप्तचर सेवा (सेविन)का कार्यालयलगायत कारागार रहेका छन्। तर बन्दीहरूका आफन्तहरूले ग्रेगोरी सानाब्रिया नामक एक जना राजनीतिक बन्दीलाई अर्को गैरराजनीतिक बन्दीले आक्रमण गरेपछि त्यहाँ समस्या शुरू भएको दाबी गरेका छन्।

सेविनका कारगारमा राजनीतिक र गैरराजनीतिक गरी ३ सय जनाभन्दा बढी बन्दी थुनिएका छन्। सामाजिक सञ्जालहरूमा सानाब्रियाको सुन्निएको अनुहारसहितका तस्वीरहरू सार्वजनिक भएका छन्। पेसाले विद्यार्थी उनलाई सन् २०१४ मा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको अभियोगमा गिरफ्तार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्