अमेरिकाको जन्मदर घट्यो



वासिङ्टन, (एजेन्सी)
महिलाहरूले आमा बन्ने समयमा ढिलाइ गर्न थालेकाले विगत ३० वर्षदेखि अमेरिकामा जन्मदर घट्दै गइरहेको विशेषज्ञहरूले औंल्याएका छन्। सन् २०१७ मा अमेरिकामा करिब ३८ लाख ५० हजार शिशुको जन्म भएको छ। सन् १९८७ यताकै यो सबैभन्दा न्यून संख्या हो। किशोरावस्था वा २० वर्ष उमेरको हाराहारीमा महिलाहरूलाई बच्चा जन्माउन बन्द गरेकाले यो परिणाम निस्केको हो।

राष्ट्रहरू धेरै विकास हुँदै गएपछि जन्मदर घट्दै जानु स्वाभाविक पनि हो। अमेरिकाको प्रजनन दर संयुक्त अधिराज्यको भन्दा कमै भए पनि अन्य थुप्रै मुलुकहरूको भन्दा बढी रहेको छ। तर गतवर्ष अमेरिकामा ४० देखि ४४ वर्ष उमेरबीचका महिलाहरूबाट हुने सन्तान उत्पादनमा भने वृद्धि भएको पाइएको छ। प्रतिवर्ष प्रतिएक हजार व्यक्तिबाट भएको जीवित सन्तान उत्पादनलाई जन्मदरको रूपमा लिइने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्