नोट छापेको थाहा थिएन : दीपेन्द्र के खनाल



नक्कली नोटको कारोबार अभियोगमा बुधबार पक्राउ परेका निर्माता माधव वाग्लेले ‘सुटिङ प्रयोजन’का लागि सो नोट छापेको बताए पनि सम्बन्धित फिल्मका निर्देशक दीपेन्द्र के खनालले यसबारे आफूलाई थाहा नभएको र नोटको काम बाँकी रहेको बताएका छन्।

‘रकम कहाँबाट कसरी ल्याइयो, भाडामा ल्याइयो वा छापेर ल्याइयो मलाई थाहा भएन’, दीपेन्द्रले बिहीबार नेपाल समाचारपत्रसँग कुरा गर्दै भने–º ‘चंगा चेटको एउटा सिनका लागि ठूलो रकम जरुरी थियो। त्यो सिनमा ठूलो डकैती हुने र रकम भेटिने थियो। ज–जसले पैसा भेट्छन्, बाँडेर लिनुपर्ने सिन थियो। त्यसमा प्रायः सबै कलाकार थिए। आयुष्मान देशराज, सन्दीप क्षत्री, रवीन्द्र झा, सुरक्षा पन्त, ज्याक श्रेष्ठलगायतका कलाकारको सिन थियो त्यो। तर, सन्दीप र रवीन्द्रलाई विदेश जानुपर्ने भएकाले केही सिन पछि गर्ने गरी प्रेसरमा मुख्य–मुख्य सिन खिचियो।’

दीपेन्द्रले भने– ‘सुटिङ वनस्थलीतिर भएको थियो। कामको एकदमै प्रेसरमा थिएँ। त्यसैले त्यतिका रकम कहाँबाट कसरी ल्याइयो? दुवै साइडमा प्रिन्ट छ छैन, साइन के छ, नम्बरहरू के लेखेको छ, केही पनि हेरिनँ र याद पनि भएन। त्यसबारे आइडिया पनि भएन। सोधखोज नगरेकाले कहाँ गएर कति छापेको भन्ने पनि मलाई थाहा छैन। भाडामा ल्याएको हो कि छापेर ल्याएको हो भन्ने पनि मलाई थाहा भएन।

यस्तो काम आर्टको मान्छेलाई जिम्मा दिएको हुन्छ। आर्ट डाइरेक्टर मेनुका राई हुन्। उनले पनि असिस्टेन्टलाई खटाएको रहेछ’, उनको भनाइ छ– ‘त्यो नोटको प्याचवर्क बाँकी थियो। फिल्म इडिटिङ गरेपछि लाइनअप हेरेर कहाँ पुग्दैन त्यहाँ थप्ने भन्ने हाम्रो प्लान थियो। माधव दाइले त्यसैले त्यो पैसा राखिरहेको हुनुपर्छ भन्ने लाग्छ। माधव दाइलाई भेट्न दिइएको छैन। त्यसैले के–कसो हो मैले थाहा पाउन सकेको छैन।’

नोट हेर्दै छुटिन्थ्यो : आयुष्मान देशराज

नायक आयुष्मान देशराजका अनुसार सुटिङमा प्रयोग गरिएका ती नोट हेर्दै र छुँदै नक्कली भएको छुटिन्थ्यो।

‘एक त नोटमा नक्कली लेखेको थियो। एकथरीमा सिग्नेचरको तल र अर्कोवालामा बीचमा नक्कली लेखिएको थियो’, आयुष्मानले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘त्यो बन्डल हातमा बोक्दा सीधै नक्कली नोट भन्ने महसुस गर्न सकिन्थ्यो। हेर्नेबित्तिकै छुट्टयाउन सकिन्थ्यो। त्यसको साइज नै फरक थियो। त्यसको साइज सक्कली नोटको तुलनामा ठूलो थियो। त्यो देखेर मैले सुटिङ सेटमा अरूभन्दा मोटो र ठूलो चौडाइको रहेछ है पनि भनेको थिएँ।’

सुटिङ प्रयोजनका लागि भन्ने हेरिएन – निश्चल बस्नेत

माधव वाग्लेद्वारा निर्मित फिल्म लुटका निर्देशक निश्चल बस्नेत राष्ट्र बैंकबाट स्वीकृत नलिई फिल्म सुटिङका लागि नोट छाप्नु गलत भए पनि सुटिङ प्रयोजनका लागि छापिएको नोटको गलत प्रयोग भएको बारे बुझ्ने कोशिस नगरिएको बताउँछन्।

‘नेपाल राष्ट्र बैंकबाट परमिसन नलिई फिल्म सुटिङका लागि नोट छाप्नु मिस्टेक भएको हो। तर, पुलिसको प्रेसमिटदेखि नै सुटिङको प्रयोजनका लागि नोट छापिएको र त्यसको मिस युज भएको बारे कतैबाट हेरिएन। त्यो नोट नक्कली हो भन्ने परैबाट थाहा हुन्छ। त्यसमाथि नक्कली भनेर उल्लेख पनि गरिएको छ। तर, प्रचारमा ल्याउँदा सुटिङका लागि नोट छापिएको तथ्यलाई हाइड गरेर जाली नोटको कारोबारी जसरी प्रचार गरियो। त्यसबाट मलाई दुःख लागेको छ’, निश्चल भन्छन्– ‘हिजो (बुधबार) एकैछिन भेट्दा माधव दाइले बिरत्तिएर फिल्ममा लागेको फल पाइयोभन्दा मन कुँडिएर आयो। रेस्टुरेन्टमा बसेर खाएको बिल तिर्ने बेला त्यो नोट बजारमा आएको थाहा पाएपछि माधव दाइले पुलिसलाई सुटिङका लागि छापिएको हो। त्यो नोटहरू अफिसमा छ भनेर आफैंले बुझाउनुभयो। पछि मुचुल्कामा साइन गर्न आउनु भनेर पक्राउ गरियो।’

निश्चल भन्छन्– ‘त्यो नोटको मिस युज गर्ने आर्ट डिपार्टका मान्छेले हामीले त्यो पैसा उहाँको अफिसबाट चोरेर लगेको हो भनिसकेपछि उनीहरूलाई कारबाही गर्ने कि प्रमाणित नै नभई माधव दाइलाई नाइके र अपराधी बनाउने? यसलाई केवल क्राइमको नजरबाट हेरियो। फिल्मका लागि गरिएको कामका रूपमा हेरिएन। मिस्टेक भएको सजाय पनि छुट्टै होला कि? कुनै दिन यसबारे पूर्ण सत्य त आउला तर यसबाट भएको हानीबाट भोलि कस्तो परिणाम आउला, त्यो पनि सोच्नु पर्ला।’

प्रतिक्रिया दिनुहोस्