नेपाल कम्युनिष्ट पार्टी: इतिहासकै शक्तिशाली पार्टी



काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएसँगै नेपालमा विशाल कम्युनिष्ट पार्टीको स्थापना भएको छ ।

बिहीबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुबै दलको संयुक्त बैठक नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरेको छ । नयाँ पार्टीका केन्द्रीय सदस्यले सामूहिक सपथ लिएका छन् ।

नयाँ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ ।

नयाँ पार्टीमा दुई जना सहअध्यक्ष र दुई जना बरिष्ठ नेता हुनेछन् । कम्युनिष्ट पार्टीको ९ सदस्यीय केन्द्रीय कार्यालय पनि बिहीबारै गठन भएको छ । ४५ सदस्यीय स्थायी समिति हुने कम्युनिष्ट पार्टीमा ४४१ जना केन्द्रीय सदस्य हुने छन् ।

एमालेका तर्फबाट २४१ र माओवादी केन्द्रका २०० जना मिलाएर नयाँ केन्द्रीय समिति बनेको हो। त्यस्तै एमालेका २६ र माओवादीका १९ जना सम्मिलित ४५ सदस्यीय स्थायी समिति बनेको छ। शीर्ष ९ नेता सम्मिलित केन्द्रीय कार्यालय बनाइएको छ। केन्द्रीय कार्यालयमा रहने ९ नेताको वरीयता पनि टुंगो लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सो वरीयताको शीर्ष स्थानमा छन् । दोस्रो वरीयतामा पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन् । बिष्णु पौडेललाई पार्टीको महासचिव र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने सहमति भएको छ ।

संघीय संसदका दुबै सदनमा यो दलसँग ६० प्रतिशतभन्दा बढी बहमुत छ । उपल्लो सदनका ५९ सदस्यमध्ये कम्युनिष्ट पार्टीका ४२ जना सांसद छन् ।

तल्लो सदन प्रतिनिधि सभाका २७५ सांसदमध्ये यो दलसँग ६३।५ प्रतिशत अर्थात् १७४ जना सांसद छन् । राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभाका सभामुख र उपसभामुख पनि यही दलका छन् ।

मंसिरमा भएको प्रतिनिधि सभामा यो दलले झन्डै ४७ प्रतिशत लोकप्रिय मत पाएको छ । ९५ लाख ४४ हजार ७ सय ७९ मतमध्ये कम्युनिष्ट पार्टीले ४४ लाख ७७ हजार २ सय १५ मत पाएको छ ।

प्रदेश नम्बर २ बाहेक ६ प्रदेशमा कम्युनिष्ट पार्टीको सरकार छ । ती ६ वटै प्रदेश सभामा सभामुख र उपसभामुख पनि यही पार्टीका छन् ।

सात प्रदेशका ५५० प्रदेश सभा सदस्यमध्ये कम्युनिष्ट पार्टीका ३५१ जना सांसद छन् ।

स्थानीय तहको चुनावमा एमाले र माओवादी छुट्टाछुट्टै लडेका थिए । ७५३ स्थानीय तहका ३५ हजार ४१ पदमध्ये १९ हजार ५ सय ४०मा कम्युनिष्ट पार्टीका जनप्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस्