यी हुन ​नेपाल कम्युनिस्ट पार्टीको पहिलो बैठकले गरेका आठ निर्णय



काठमाडौं । नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) आज एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले महत्वपूर्ण आठ वटा निर्णयहरु गर्दे भर्खरै सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले ८ वटा निर्णय गरेको सो पार्टीले जनाएको छ । नयाँ पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्णयार्थ पेश गरेका ८ प्रस्तावलाई पारित गरेको हो । नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठकले गरेका निर्णयहरु जस्ताको तस्तै ।

१) दल एकीकरण भएको निर्णय गरियो ।
२) पार्टी नामकरण सम्बन्धमा छलफल गर्दा नेपाल कम्युनिस्ट पार्टी रहने निर्णय गरियो ।
३) दलहरुबीचको सम्झौता र सहमति पारित गर्ने निर्णय गरियो ।
४) राजनीतिक प्रतिवेदन र आन्तरिक विधान सम्बन्धमा माधवकुमार नेपाल र रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदनलाई संसोधनसहित पारित गर्ने निर्णय गरियो ।
५) दलको निर्वाचन चिन्ह ‘सूर्य’ रहने निर्णय गरियो ।
६) दलको सम्पत्ति र दायित्वसम्बन्धी प्रस्ताव उपर छलफल हुँदा साबिकमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति र दायित्वहरु एकिकरण भएको दल नेकपामा सर्ने निर्णय गरियो ।
७) एकीकरण भएको दल नेकपाको दल दर्ता लगायतका प्रयोजनका लागि साबिकको नेकपा एमालेबाट सुवास नेम्वाङ र नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङलाई अधिकार प्राप्त व्यक्ति तोक्ने र निजहरुलाई सहयोग गर्न वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, अधिवक्ता बाबुराम दाहाल र अधिवक्ता रमेश बराललाई तोक्ने निर्णय गरियो ।
८) एकीकरण भएको दल नेकपाको केन्द्रीय समितिको संख्या ४ सय ४१ जनाको रहने तथा आज यस पहिलो बैठकमा उपस्ति भएका सबै केन्द्रिय सदस्यले हस्ताक्षर गरी निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाका लागि अगाडि बढ्ने निर्णय गरियो ।

प्रतिक्रिया दिनुहोस्