उत्तर कोरियाद्वारा ट्रम्पसँगको वार्ता त्याग्ने धम्की



सोल, (एजेन्सी)
उत्तर कोरियाले यदि संयुक्त राज्य अमेरिकाले आफूलाई आफ्नो आणविक हातहतियार त्याग्न दबाब दिइरहेको खण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता त्याग्न सक्ने बुधबार बताएको छ। अत्यन्तै उत्साहपूर्वक प्रतिक्षित ट्रम्प र उत्तरका सर्वोच्च नेता किम जोङ उनबीचको ऐतिहासिक वार्ता १२ जुनमा हुने तयार भएको छ।

तर एउटा आक्रोसपूर्ण विज्ञप्तिमार्फत उत्तर कोरियाका उपविदेशमन्त्रीले अमेरिकाले अनावश्यक विज्ञप्तिहरू जारी गर्दै धम्कीपूर्ण उद्देश्यहरू प्रस्तुत गरिरहेको बताएका छन्। उपविदेशमन्त्री किम क्ये ग्वानले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोह्न बोल्टनलाई इंगित गर्दै आफूहरूले उनीविरुद्धको घिनलाग्दो भावना नलुकाउने बताएका छन्।

उत्तर कोरियाले कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्न प्रतिबद्ध रहेको जनाएपछि किम र ट्रम्पबीचको वार्ताका लागि वातावरण बनेको थियो। शिखर वार्ताको भविष्य अझैसम्म भन्नै नसक्ने स्थितिमा रहेपछि उत्तर कोरियाले विदेशी सञ्चारकर्मीले यसै महिनाको उत्तरार्ध आफ्नो प्रमुख आणविक परीक्षणस्थल नष्ट गर्ने कार्यको प्रत्यक्ष अवलोकनका लागि आमन्त्रण गरिसकेको छ।
बोल्टनले उत्तर कोरियाले ‘लिबिया मोडल⁄’को विश्वसनीय निशस्त्रीकरणलाई अनुसरण गर्नसक्ने प्रतिक्रिया दिएका थिए। तर आफ्नो आणविक कार्यक्रम त्यागेको केही वर्षपछि पश्चिमी जगत् समर्थित लडाकूहरूद्वारा लिबियाका नेता कर्णेल गद्दाफी मारिएको देखिसकेका प्योङयाङ उनको यस्तो टिप्पणीबाट विचलित भएको हो।

किमको विज्ञप्तिलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी समाचार निकाय केसीएएनले यदि अमेरिकाले उत्तरलाई घेराबन्दी गर्दै एक पक्षीयरूपमा आणविक हतियार त्याग्न दबाब दिएको खण्डमा १२ जुनमा सिंगापुरमा हुने भनिएको वार्तामा भाग लिनेबारे उत्तरले पुनः सोच्नुपर्ने जनाएको छ। गतमहिना दक्षिण कोरियामा किम जोङ उन र दक्षिणका राष्ट्रपति मुन जाय इनबीच ऐतिहासिक भेटवार्ता भएको थियो।
यसैबीच केसीएनएले दक्षिण कोरिया अमेरिकाले संयुक्त सैनिक अभयास शुरू गरेकाले उत्तर कोरियाले दक्षिणसँगको वार्ता स्थगन गरेको जनाएको छ। तर अमेरिकी विदेश विभागका महिला प्रवक्ता हिथर नाउर्टले मंगलबार उक्त संयुक्त सैनिक अभ्यासको बचाउ गर्दै अमेरिकाले पूर्व निर्धारित अभ्यास र किम र ट्रम्पबीचको शिखर वार्तामा अवरोध आउनेबारे कुनैकुरा नसुनेको बताएकी थिइन्।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले दुई कोरियाबीच बुधबार पुनः वार्ता शुरू हुने कार्यक्रम रहेको तर अचानक उत्तर कोरियाका प्रमुख वार्ताकार रि सोन ग्वोनबाट प्राप्त भएको लिखित सूचनाको आधारमा सो वार्ता स्थगित गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्