मलेसियाली नेता अनबर कारागार मुक्त, दुईवर्षमै प्रधानमन्त्री बनाइने



क्वालालमपुर, (एजेन्सी)
मलेसियामा विपक्षी राजनीतिक समूहले अप्रत्यासित ढंगले चुनाव जितेको केही दिनपछि अर्थात् बुधबार कारगारमुक्त गरिएका सुधारवादी नेता तथा पूर्व उपप्रधानमन्त्री अनबर इब्राहिमले मलेसियामा नयाँ बिहानीको उदय भएको प्रतिक्रिया दिएका छन्। अनबरले आफ्ना रमाइरहेका समर्थकहरूलाई आफूले आफ्नो गठबन्धन तथा पूर्व प्रतिद्वन्द्वी एवम् वर्तमान प्रधानमन्त्री महाथिर मोहमदलाई पूर्णरूपमा समर्थन गरेको बताएका छन्। ९२ वर्षीय महाथिरले राजनीतिक प्रचारप्रसारकै क्रममा अनबरलाई रिहा गर्ने प्रतिबद्धता जनाएका थिए।

यसअघि महाथिरले चुनाव जित्नासाथ भ्रष्टाचार र समलिंगी गतिविधिमा संलग्न रहेको अभियोगमा थुनिएका अनबरलाई क्षमादान दिने घोषणा गरेका थिए। साथ ैमहाथिरले अनवरलाई दुई वर्षभित्रे प्रधानमन्त्री बनाएर आफू पछि हट्ने पनि बताएका छन्। विगतमै देशको भावी नेताका रूपमा लिइएका अनबरले सत्तारूढ सरकारको विरोधमा उत्रेकाले जेल सजाय भोग्नुपरेको थियो। उनले आफूलाई राजनीतिक पूर्वाग्रहर राखेर जेल सजाय दिइएको बताउने गरेका छन्।

रिहा भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा अनबरले मलेसियाका जनतालाई धन्यवाद दिँदै तिनीहरू प्रजातन्त्र र स्वतन्त्रताको सिद्धान्तमा अडिग रहेको तथा तिनीहरूले परिवर्तन चाहेको बताएका छन्। साथै अनबरले आफूले महाथिरलाई माफी दिएको र अब उनलाई पूर्ण सहयोग र समर्थन गर्ने पनि बताएका छन्। नब्बेको दशकमा महाथिरको शासनकालमा दक्षिण एसियाली मुलुक मलेसियाले तीव्र गतिमा आर्थिक उन्नति गरेको थियो।

प्रतिक्रिया दिनुहोस्