कृषिमा प्राथमिकता देऊ



नेपाल कृषिप्रधान देश हो । जीवनयापनका लागि कृषिको अपरिहार्यता पनि छ । यहाँको हावापानी यति उपयुक्त छ कि ठाउँअनुसार सबै प्रकारका कृषि उत्पादन गर्न सकिन्छ । नेपालको तराईदेखि हिमालसम्म १६ प्रकारको हावापानी रहेको कारण विश्वमा उत्पादन हुने सबै कृषि उत्पादन नेपालमै उत्पादन गर्न सकिन्छ । तर पनि हाम्रो देशमा आयातमुखी कृषि उत्पादन हुन सकेको छैन । प्रायः कृषक निर्वाहमुखी कृषि पेसामा मात्र सीमित रहेका छन् । पछिल्लो तथ्यांकअनुसार यहाँका ६६ प्रतिशत मानिस कृषिमा आश्रित छन् । ६६ प्रतिशत मानिस कृषिमा आश्रित भए पनि ५० प्रतिशतलाई मात्र खान पुग्ने गरेको र थप ५० प्रतिशतलाई आयात गर्नुपर्ने बाध्यता छ ।

कृषि पेसाबाट नै आत्मनिर्भर हुन सक्ने थुपै उदाहरण प्रस्तुत भैरहँदा पनि लाखौं युवा वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा जाने क्रम पनि रोकिएको छैन । स्वरोजगार मात्र हैन, रोजगारी सृजना हुने कृषि व्यवसायमा युवाहरूलाई आकर्षित गर्न नसक्नु सरकारको ठूलो कमजोरीका रुपमा हेरिएको छ । कृषि उत्पादन बढाउन सरकारी तवरबाट भएका प्रयासले सफलता प्राप्त गर्न नसक्दा पनि युवाहरूको कृषिमा आकर्षण घटेको अनुमान गरिएको छ । कृषिका लागि अपरिहार्य एउटा पूर्वाधार सिंचाइ सुविधा अधिकांश ठाउँमा छैन । कृषि उत्पादन भए पनि भण्डारणको समस्या त्यस्तै छ । कृषकको उत्पादनमा बिचौलियाहरूको रजाइँले कृषि पेसामा संलग्न कृषकहरूलाई झन् निराश बनाएको छ । सिजनल उत्पादनमा कृषकले पाउने भाउ र उपभोक्ताले खरिद गर्ने भाउमा ५० प्रतिशतभन्दा बढी फरक पाइन्छ । कतिपय वस्तुको खरिद–बिक्रीमा त किसान र उपभोक्ताले बिक्री गर्ने र खरिद गर्ने मूल्यमा एक सय प्रतिशतसम्म फरक पाइएको छ ।

नेपालमा कृषिको लागि उर्वर भूमि प्रशस्त छ । पशुपालनको लागि उपयुक्त वातावरण छ । तर पनि वार्षिक अर्बौं रुपियाँ बराबरको कृषिका विभित वस्तुहरू आयात गरिरहनुपरेको छ । कृषि उत्पादनको आयात घटाउन र निर्यातमुखी उत्पादन बढाउन सरकारले विशेष चासो राख्दै योजना तर्जुमा गर्नुपर्ने देखिन्छ । साथै बजेट पनि सोही अनुरुप विनियोजन गर्नुपर्ने हुन्छ । धान, गहँ, मकै, आलु, दुग्धपदार्थ, कुखुरा, खसी तथा अन्य तरकारीजन्य वस्तुहरू मात्र हैन कृषिका सयौं उत्पादन गर्न सकिन्छ । अर्बौं रुपियाँको आयात रोक्ने मात्र हैन अर्बौंको निर्यात गर्न सकिने र लाखौं नेपाली स्वरोजगार हुन सक्ने कृषि क्षेत्रमा सरकारले पर्याप्त बजेट छुट्याउनुपर्छ । अनि प्रभावकारी योजना बनाई कृषि पेसालाई व्यावसायिक बनाएर अघि बढाउन ढिलाइ गर्नुहँदैन ।

प्रतिक्रिया दिनुहोस्