चकलेटी प्रदीप कैदी भेषमा



चकलेटी हिरो प्रदीप खड्का बुधबार अनौठो रूपमा देखिए। लामो कपाल र लामै दाह्री–जुगा अनि छाला चाउरिएर गढेका आँखा। हातमा हत्कडी। उनी देखिएका थिए अदालत परिसरमा। जहाँ अदालतको कठघरमा उनी प्रेमीको हत्या अभियोगबारे बयान दिँदै थिए। भन्दै थिए– ‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ।’

यो बनिबनाउ अदालत थियो, राजधानीको बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल चलचित्र विकास कम्पनीको स्टुडियो। जहाँ खासमा एक फिल्मको शुभमुहूर्त थियो। फिल्म थियो रोजी। जसका लागि प्रदीपले भेष बदलेका थिए। उनी त्यहाँ लामो समय जेल जीवन बिताएको बैरागी युवाका रूपमा प्रस्तुत भएका थिए।

जसका कारण प्रदीपलाई चिन्नेहरूलाई पनि उनी हुन् भनेर ठम्याउन मुस्किल पथ्र्यो। निरक पौडेलको निर्देशनमा गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टद्वारा निर्माणाधीन फिल्मको बुधबारदेखि नै छायांकन कार्य शुरू भएको छ।

नायक प्रदीप खड्काले यो फिल्मको पात्रलाई न्याय दिन कपाल बनाएको र नक्कली दाह्री–जँगा राखेको खुलाए। रोजीमा उनका साथमा कर्मा, परमिता आरएल राणा, मिरुना मगर, रवीन्द्र खड्का, प्रकाश श्रेष्ठलगायतका कलाकार मुख्य भूमिकामा छन्।

कार्यक्रममा नायिका परमिताले प्रदीपको जोडीका रूपमा काम गर्न पाउँदा खुसी व्यक्त गरिन्। प्रदीपको यो न्यु लुक्सले रोजीप्रति दर्शकको उत्सुकता बढ्ने विश्वास निर्देशक पौडेलले गरे।

उद्धव पौडेलको प्रस्तुति तथा आयरा पौडेल र आरोही केसीको निर्माण रहने फिल्ममा केदार भुसालको कथा, अर्जुन पोखरेलको संगीत, राजुविक्रम थापाको छायांकन र मित्र डी गुरुङको सम्पादन रहनेछ।

प्रतिक्रिया दिनुहोस्