चलचित्र पत्रकारिता सम्मान र पुरस्कारको घोषणा



चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको दिन जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउने क्रममा यसपटक पनि कार्यक्रम गरी चलचित्र पत्रकारहरूलाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ।

बुधबार बसेको संघको कार्यसमिति बैठकले यस वर्ष ध्रुव लम्साल र दयाराम पाण्डेलाई चलचित्र पत्रकारिता सम्मान तथा लक्ष्मण सुवेदी र सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। सुवेदी र थापालाई नगद २१ हजार रुपियाँका साथमा ताम्रपत्र र ट्रफी प्रदान गरिने संघले जनाएको छ।

त्यसैगरी संघले अघिल्लो वर्षदेखि प्रदान गर्दै आएको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार यस वर्ष अञ्जान दाहाल (मनीष) लाई प्रदान गरिने भएको छ। प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ। यो सम्मान र पुरस्कार आगामी जेठ ७ गते १९औं स्थापना दिवसको अवसर पारेर प्रदान गरिने संघका महासचिव अनिल यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्