ग्रामीण क्षेत्रमा ऊर्जाको विकास आवश्यक



काठमाडौँ । ग्रामीण क्षेत्रको विकासका लागि त्यहाँ रहेको ऊर्जालाई सदुपयोग गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन ।

ग्रामीण प्रविधि उत्पादक संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा अज यहाँ आयोजिते छलफल कार्यक्रममा उनीहरुले गाउँपालिकामा आगामी वर्षका लागि बन्ने नीति, कार्यक्रम र बजेटमा नवीकरणीय ऊर्जालाई समेट्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले देशभरका ४६० गाउँपालिकामध्ये ११९ गाउँपालिका अहिलेसम्म पनि ऊर्जाविहीन रहेकाले ग्रामीण क्षेत्रमा ऊर्जाको विकास जरुरी रहेको बताउनुभयो ।

“ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि केन्द्रले आर्थिक तथा भौतिक सहयोग गर्न तयार छ,”– उहाँले भन्नुभयो ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले ग्रामीण क्षेत्रको उन्नत्तिका लागि ऊर्जा प्रविधि महत्वपूर्ण भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गर्नु आवश्यक छ भन्नुभयो ।

पूर्वमन्त्री गणेश शाहले ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि सोही गाउँपालिकामा रहेका ऊर्जाको दिगो सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल लघु जलविद्युत् विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले ग्रामीण क्षेत्रमा रहेको साना जलविद्युत् संस्थाको अध्ययन गरेर आगामी बजेट बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जेठभित्र पहिलो चरणमा प्रदेश नं ३ का ७४ गाउँपालिकाका अध्यक्षसँग आगामी योजनामा ऊर्जालाई कसरी समेट्न सकिन्छ भन्ने बारेमा छलफल गरिने र त्यसपछि मुलुकका सातै प्रदेशका गाउँपालिकाका अध्यक्षसँग छलफल गरिने ग्रामीण प्रविधि उत्पादक संघका अध्यक्ष हस्त पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्