कोलकाताले राजस्थानलाई ६ विकेटले हरायो



काठमाडौं । राजस्थान रोयल्स फेरि एकपटक कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ । कोलकाताको मैदानमा भएको आईपीएलअन्तर्गत खेलमा घरेलु टोलीले राजस्थानलाई ६ विकेटले हराएको हो ।

योसँगै राजस्थानविरुद्ध कोलकाताले २००८ देखि इडेन गार्डेन्समा अपराजेय बन्दै आएको क्रमलाई निरन्तरता दियो । राजस्थानले १ सय ४२ रन मात्रै बनाउन सकेको थियो । जसमा ओपनर जोस बटलर लगातार छैटो अर्धसतकबाट चुके । उनी ३९ रनमा आउट भएपछि आईपीएलमा लगातार ६ अर्धसतक बनाउने नयाँ कीर्तिमानबाट पनि चुकेका थिए ।

लक्ष्य एकदमै सहज भएको स्थितिमा राजस्थानले बलिङलाई चुस्त पनि बनाउन सकेन । बेन स्टोक्सले ३ विकेट लिनु बाहेक अन्य बलर घातक बनेनन् । कोलकाताको जितमा कप्तान दिनेश कार्तिकले नटआउट हुँदै ४१ रनको योगदान दिएका थिए । क्रिस लीनले ४५ रन बनाएका थिए । कोलकाताका बलर कुलदीप यादव ४ विकेट लिएर म्यान अफ द म्याच घोषित भएका थिए ।

यो नतिजापछि कोलकाताको प्लेअफ खेल्ने आशा झनै बलियो भएको छ । राजस्थानको लागि प्लेअफमा छनोट हुन बाँकी खेल जिते पनि अर्को नतिजामा भर पर्नु पर्ने हुन्छ । शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान अनुसार दुई टोलीको मात्रै टुंगो लागेको छैन ।

सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्स प्लेअफमा पहिले नै पुगिसकेका छन् । १३ खेलपछि कोलकाताको १४ अंक छ भने यति नै खेल खेलेको राजस्थानको १२ अंक रहेको छ । किंग्स इलेभेन पञ्जाबको १२ खेलबाट १२ अंक नै छ भने मुम्बई इन्डियन्सले १२ खेलमा १० अंक जोडेको छ । आज पञ्जाब र मुम्बईले खेल्दैछ । जित्ने टोलीको प्लेअफ आशा जीवितै हुन्छ भने हार्ने टोलीको प्लेअफ संभावना समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्