निर्माणाधीन आकासे पुल भत्कियो, कम्तीमा १२ जनाको मृत्यु



नयाँ दिल्ली । उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो ।

भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ ।

घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको निधन भएको भएपनि उद्धार जारी रहेकाले मृतकको सङ्ख्या यकीन भैनसकेको बताए । थप जानकारी उद्धार सकिएपछि दिन सकिने उनले बताए ।

स्थानीय टेलीभिजन च्यानल एएनआईले पनि घटनामा १२ जनाको मृत्यु भएको र अन्य केही भग्नाबशेषमा फसेको जनाएको छ । मृतक तथा फसेका अधिकांश व्यक्ति श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेका एक जना प्रत्यक्षदर्शीले बताए ।

प्रतिक्रिया दिनुहोस्