नेपाली फुटबलका ‘मणि’ अर्थात् नेपाली म्याराडोना



फिरोज राजोपाध्याय, काठमाडौं
नेपालमा टेलिभिजनको आगमन हुँदा एक खेलाडीको जादुमय कलाले नेपाली फुटबल समर्थकलाई ‘पागलप्रेमी’ जस्तै बनाएको थियो। ४÷५ल ना खेलाडीलाई छलाएर गोल गरेको दृश्य टेलिभिजनमा प्रत्यक्षरूपमा हेर्न पाउँदा नेपाली फुटबल समर्थक कायल पनि भए। उनी थिए अर्जेन्टिनाका लिजेन्ड डिएगो म्याराडोना। म्याराडोनाको कर्ली कपाल, ड्रिबलिङ कलामा सबैभन्दा बढी समर्थकले वाहवाही गरे।

सन् १९८६ मा म्याराडोनाको उदय हुनुअगाडि नेपालमा पनि एक खेलाडीको उदय भयो। त्यो सन् १९८५ थियो। म्याराडोनाकै कद, कर्ली कपाल, बायाँ खुट्टाको जादुमय कला, ड्रिबलिङसँग केही न केही मिल्थ्यो उनको। यसैले उनलाई नेपाली फुटबलका समर्थकहरूले नाम दिए– नेपाली म्याराडोना। मैदानमा खेलिरहँदा साँच्चिकै म्याराडोनाको झलक देखाउँथे उनले। ती नेपाली म्याराडोना अरू कोही नभएर थिए मणि विक्रम शाह।

शाहले सन् १९८५ मा नेपाली राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा सहभागी गराउन उनका पछिल्ला खेलले सहयोग गरेका थिए। सन् १९८३ मा बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा नेतृत्व गरेका मणिले ८ गोल गरेका थिए। उनले १३ वर्षको उमेरमै लिजेन्ड बन्ने संकेत गरेका थिए।
नभन्दै मणिले सबैभन्दा कमाल देखाए सन् १९९३ को ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलमा। भारतविरुद्धको खेलमा नेपाल लगभग हारेर चाँदीको तक्मा लिने पक्कैजस्तो भइसकेको थियो। भारत २–१ ले अगाडि र निर्धारित समय सकिन ३० सेकेन्ड बाँकी थियो। करिब १८ यार्ड दूरीमा पाएको फ्रि–किकलाई गोल गरे मणिले देब्रे खुट्टामार्फत। उनको प्रहार भारतीय गोलकिपरको बायाँतिर माथिल्लो कर्नरमा ड्रप भएको थियो।

फाइनल म्याच जितेर नेपालले फुटबलमार्फत यो खेलकुदमा एक मात्र स्वर्ण प्राप्त गरेको थियो। यही बेलादेखि कहिल्यै नटुट्ने गरी मणिविक्रम शाह नेपाली फुटबलसँग पर्यायवाची बन्यो। त्यो खेलमा उनको अद्भूत कलालाई नजिकबाट नियालेका पूर्वराष्ट्रिय फुटबलर बालगोपाल महर्जनले मणिजस्तो खेलाडी नेपालमा नजन्मेको प्रतिक्रिया दिनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मणि शाह दक्षिण एसियाकै टप खेलाडीमा गनिनुहुन्छ। उहाँ घाइते भए पनि गोर्खालीले झैं मैदानमा खेल्नुभयो, त्यसले गर्दा नेपाललाई स्वर्ण पदकसमेत दिलायो।

उहाँ खेलप्रति लगाव, समर्पित, ड्रिबलिङमा कुशलता धेरै नै भएको खेलाडी हुनुहुन्छ।’महर्जनले अझै थप्नुभयो– ‘मलाई लाग्छ उहाँको शैली कताकता म्याराडोनासँग मिल्छजस्तो लाग्छ। त्यसैले पनि उहाँलाई नेपाली म्याराडोना भनिएको हो कि। त्यतिबेला उहाँलाई भारतीय खेलाडी भाइचिङ भुटियाले समेत प्रशंसा गरे। भाइचिङले मणिजस्तो खेलाडी देखेको छैन भनेका थिए।

शाहको खेलाडी करिअरको अन्त्य सन् १९९८ मा भएको थियो। नेपाली राष्ट्रिय टोलीबाट ५२ औं क्याप लगाएका उनी घाइते भएपछि नै फुटबल त्याग्नु परेको थियो। सन् १९९८ मा १३ औं एसियन गेम्सका लागि मणिले झण्डासमेत बोकेर नेपाली टोलीको नेतृत्व गरेका थिए। तर अकस्मात खुट्टा भाँचिएर खेल्न पाएनन्। यही कारण उनी त्यतिबेलै फुटबल करियरलाई बाई बाई गर्न विवश भए। उनले ६ अन्तर्राष्ट्रिय गोल गरेका थिए।
यसैगरी मणिको जादुमय कलाकै कारण नेपालमा मनाङ मस्र्याङदी क्लब जस्तो शसक्त क्लबको पर्दापण भयो। ठमेल ११ को अवसान पछि २०३८ सालमै मनाङ मस्र्याङदी क्लबको उदय भएको थियो। उनले मनाङलाई डी डिभिजनदेखि खेल्दै ए डिभिजनसम्म मात्रै ल्याएनन्, क्लबलाई २०४२ सालमै ए डिभिजनकै च्याम्पियन समेत बनाए। मनाङको खेल दशरथ रंगशालामा हुँदा उनलाई हेर्नको लागि पनि दर्शक ओइरिन्छन्। उनकै भनाइअनुसार उनी नभएमा दर्शकलाई खल्लो समेत लाग्ने गथ्र्यो। उनले तत्कालीन शाही नेपाल वायुसेना निगमको तर्फबाट खेलेका थिए।

खेलबाट सन्यास लिएपछि मणि राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक बनेका थिए। तर उनले कुनै क्लब वा नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर कहिल्यै पाएनन्। नेपाली फुटबलको उत्थान गर्ने उद्देश्यले उनी अखिल नेपाल फुटबल संघ (एन्फा) मा समेत आबद्ध भएका थिए। त्यहाँ उपाध्यक्ष समेत बने। पछिल्लो सात वर्षदेखि कलेजोको रोगबाट ग्रसित भएका थिए उनी। अन्ततः कालले फुटबलका यी बाघलाई टपक्क टिपेर लग्यो सोमबार। उनको मंगलबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो। उनकै इच्छाअनुसार उनको पार्थिव शरीरसँग फुटबल राखिएको थियो। साँच्चै फुटबलमा अमिट छाप छाडेर सँधैका लागि विदा भए उनी। अलविदा नेपाली फुटबलका मणि।

प्रतिक्रिया दिनुहोस्