कर्नाटक विधानसभा चुनावमा भाजपालाई सबैभन्दा बढी सिट



बंगलोर, (एजेन्सी)
कर्नाटक विधानसभाको २ सय २२ सिटका लागि भएको चुनावी परिणाममा भारतीय जनता पार्टी सबैभन्दा ठूलो पार्टीका रूपमा उदय भएको छ। यद्यपि सरकार बनाउन आवश्यक बहुमत हासिल गर्न भने ऊ चुकेको छ।
मे १२ मा सम्पन्न कर्नाटकको विधानसभा चुनावमा भाजपाले १ सय ४ र कांग्रेसले ७८ सिट हासिल गरेको छ भने तेस्रो स्थानको जेडीएस पार्टीले ३८ सिट हासिल गरेका छन्।

यसले भाजपा सबैभन्दा ठूलो पार्टी बने पनि सरकार उनको हातबाट फुत्किने सम्भावना प्रबल बनेको छ। यस चुनावलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभाव र कांग्रेसमा पार्टी अध्यक्ष बनेका राहुल गान्धीको परीक्षणका रूपमा हेरिएको थियो। भारतमा पछिल्ला धेरैजसो राज्यको विधानसभा चुनावमा विजय झन्डा फहराउन सफल भाजपाका लागि कर्नाटकको चुनाव पनि सफलताको कडी बनेको छ। तर पार्टी अध्यक्ष बनेपछिको यो पहिलो चुनाव कांग्रेस नेता राहुल गान्धीका लागि हारकै शृंखला बनेको छ।

चुनावी परिणाममा कुनै पार्टीसँग बहुमत नभएपछि कांग्रेसले जेडीएसलाई समर्थन गर्दै स्थितिलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको छ। सत्ताको साँचो हात पारेको बताइएको जनता दल सेक्युलर (जेडीएस) पूर्वप्रधानमन्त्री एचडी देवगौडाको पार्टी हो। ३८ सिटमा जित हासिल गरेको जेडीएसलाई कांग्रेसले समर्थन दिने घोषणा गरिसकेको छ। कांग्रेस नेता विरप्पा मोइलीले जनता दल सेकुलर र कांग्रेससँग सरकार गठन गर्ने पर्याप्त संख्या भएको बताए।

भाजपाको स्थितिबिना अर्को दलको सहयोग सरकार बनाउन नसक्ने स्थिति रहेको छ।भाजपाका तर्फबाट उक्त राज्यका मुख्यमन्त्रीका दाबेदार येदियुरप्पाले भाजपा सबैभन्दा ठूलो पार्टी भएको र आफूले नै सरकार बनाउने बताएका छन्। उनले राज्यपालसँग भेटेपछि आफूहरूले नै सरकार बनाउनेमा शतप्रतिशत विश्वास रहेको बताए। यसैबीच जेडीएसका नेता एचडी कुमारास्वामीले राज्यपालसँग भेट्ने समय माग गरेको बताइएको छ। सरकार बनाउन कांग्रेसको समर्थनको प्रस्तावलाई उनले स्वीकार गरेको समाचार बाहिर आएको छ।क
कांग्रेस सरकारका मुख्यमन्त्री सिद्धारमैयाले कर्नाटकको राज्यपालसमक्ष आफ्नो राजीनामा दिएका छन्।

चुनाव नतिजा आएपछि भाजपा नेता युदियुरप्पाले एक पत्रकार सम्मेलनमा जनताले कांग्रेसलाई अस्वीकार गरेको र भाजपालाई अपनाएको बताए। जनता कांग्रेसमुक्त कर्नाटकतर्फ बढिरहेको बताउँदै अस्वीकारका बाबजुद कांग्रेस सत्तामा बसिरहने प्रयास गरिरहेको उनले बताए।

यसैबीच कांग्रेसका अर्को नेता गुलाम नबी आजादले पनि जेडीएसलाई कांग्रेसको समर्थन हुने घोषणा गरेका छन्। उनले भने– ‘हाम्रो देवगौडा र कुमारास्वामीसँग कुरा भएको छ। मुख्यमन्त्री पदका लागि जेडीएसले जसलाई चयन गर्छ, उसलाई कांग्रेसले समर्थन दिन्छ। उनीहरूले हाम्रो प्रस्ताव स्वीकार गरेका छन्। हामी सँगै जान्छौं भन्ने अपेक्षा गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्