जेरुसलममा अमेरिकी दूतावास खोलेकामा विरोध, गाजा भिडन्तमा ५५ प्यालेस्टिनीको मृत्यु



गाजा, (एजेन्सी)
गाजा सीमामा इजरायली सैनिकसँग प्यालेस्टिनी प्रदर्शनकारीको झडपमा मर्नेको संख्या कम्तीमा ५५ पुगेको छ। प्यालेस्टिनी अधिकारीहरूले उक्त भिडन्तमा २ हजार ७० प्रदर्शनकारी घाइते भएको बताएका छन्।

जेरुसलममा अमेरिकी दूतावासको उद्घाटनअगाडि शुरू भएको उक्त हिंसामा प्रदर्शनकारीले त्यसको विरोध गरेका थिए। उक्त दूतावासलाई लिएर प्यालेस्टिनी जनताले आक्रोस व्यक्त गरिरहेका छन्।

प्यालेस्टाइनले यसलाई जेरुसलममा इजरायली कब्जालाई अमेरिकी समर्थनका रूपमा हेरेका छन्। प्यालेस्टाइनले जेरुसलमको पुर्वी इलाकामाथि आफनो दावी गरिरहेका छन्।


सोमबार अमेरिकाले जेरुसलममा आफ्नो दूतावास खोलेको छ। उक्त ऐतिहासिक समारोहमा अमेरिकी अधिकारीहरूसँग राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का ट्रम्प र ज्वाइँ जेरेड कुस्नर सहभागी भएका थिए।

राष्ट्रपति ट्रम्पले कार्यक्रममा भिडियोमार्फत सम्बोधन गर्दै यो क्षण लामो समयदेखिको पर्खाइ भएको बताए। गाजामा शासन गरिरहेको मुस्लिम संगठन हमासले विगत ६ हप्तादेखि नै यसको विरोधमा प्रदर्शन गरिरहेको छ।

मे १५ लाई प्यालेस्टिनीहरू ‘नकबा’को ७०औं वर्षगांठका रूपमा मनाइरहेका छन्। ७० वर्षअगाडी सन् १९४८ मा इजरायलको निर्माण भएको उक्त दिन लाखौं प्यालेस्टिनी आफ्ना घरबार छोडेर भाग्न बाध्य भएका थिए। त्यसैले प्यालेस्टिनीहरू यो दिनलाई विनाशको दिन अर्थात् नकबाका रूपमा स्मरण गर्छन्

प्रतिक्रिया दिनुहोस्