चिनियाँ विमानको आपत्कालीन अवतरण



बेइजिङ,(एजेन्सी)
३२ हजार फिटमाथि उड्दै गरेको एउटा चिनियाँ यात्रुवाहक विमानको विन्डस्क्रिन अचानक उछिट्टिएपछि त्यसलाई मंगलबार तत्काल आपत्कालीन अवतरण गराइएको छ। सो दुर्घटनामा सहचालकको आधा शरीर विमानबाहिर पुगेको थियो।

सो विमानका क्याप्टेन लिउ चुआनजियानले चेंगडु इकोनोमिक डेलीलाई बताएका छन्– ‘एयरबस ए३१९ आकाशमाथि गति लिइरहेका बेला अचानक ककपिटमा ठूलो आवाज सुनियो। विन्डसिल्ड चर्किएको कारण ठूलो आवाज आएको रहेछ। मेरो सहचालक विमानबाहिर आधा हुत्तिए। भाग्यवश उनले सिटबेल्ट बाँधेका थिए। उनलाई ककपिटतर्फ तानियो।’

‘अचानक तापक्रम र दबाब घटेकाले ककपिटमा सामानहरू खस्नथाले। ती सामान हावामा तैरिरहेका थिए। मैले रेडियो पनि सुनिनँ। विमान बेस्सरी हल्लिन थालेकाले मैले गेजहरू पनि राम्ररी पढ्न सकिनँ।’ –उनले भने। सिचुआन एयरलायन्सको कल साइन ३ यु८६३३ बोकेको सो विमान चीनको दक्षिण पश्चिमी भागमा रहेको चोंगक्विनबाट तिब्बतको ल्हासातर्फ उडिरहेको थियो।

यात्रुहरूलाई बिहानको नास्ता बाँडिँदै गरेका बेला विमान अचानक २४ हजार फिट तल झरेको थियो। यात्रुहरूले सरकारी सञ्चारमाध्यम चाइना न्युज सर्भिसलाई भनेका छन्– ‘के भइरहेको छ भन्ने यकिन नभएकाले हामी निकै आत्तियौं। अक्सिजन मास्कहरू खस्नथाले।’ चीनको नागरिक उड्डयन प्रशासनले यस घटनामा सहचालकको नाडी मर्किनुका साथै अनुहार काटिएको जनाएको छ। अचानक विमान झर्दा एकजना अर्का क्याविन क्रु मेम्बरको पनि कमरमा चोट लागेको छ। सम्पूर्ण १ सय १९ जना यात्रुसहित सो विमान सकुशल अवतरण गारइएको थियो।

दि साउथ चाइना मर्निङ पोस्टले करिब २७ जना यात्रुको चेंगदुस्थित एउटा अस्पतालमा सामान्य स्वास्थ परीक्षण गरिएको जनाएको छ। सो विमानका करिब ५० यात्रु अर्को उडानबाट अपरा≈न ल्हासा पुगेका थिए। चट्याङ पर्दा वा पन्छीसँग विमान ठोकिँदा यसरी विन्डस्क्रिनमा क्षति पुग्नु सामान्य घटना भएको विशेषज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्