बालबालिका मार्ने सुसारेलाई आजन्म कारावास



न्युयोर्क, (एजेन्सी)
अमेरिकाको न्युयोर्क सिटीस्थित एउटा आलिसान अपार्टमेन्टमा दुई बालबालिकालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार एक महिला सुसारेलाई आजीवन कारावास सँजाय सुनाइएको छ।

न्यायाधीशले ५६ वर्षीया सुसारे योजलिन ओर्टेगालाई सजाय सुनाउने क्रममा अत्यन्तै दुष्ट र खराब महिलाको संज्ञा दिएका छन्। सन् २०१२ को २५ अक्टोबरमा म्यान≈याटनस्थित फ्ल्याटको बाथटबमा ६ वर्षीया लुसिया ‘लुलु’ क्रिम र उनका दुई वर्षीय भाइ लियोको रगताम्य लाश तिनीहरूका आमाले फेला पारेकी थिइन्।

ओर्टेगाका वकिलहरूले उनको मानसिक अवस्था ठीक नभएकाले उनलाई कम सजाय दिन गरेको अपिललाई अदालतले अस्वीकार गरेको थियो। अदालतमा आफ्नो अपराधका लागि क्षमा माग्ने क्रममा ओर्टेगाको शरीर काँपिरहेको थियो। अनुवादकको माध्यममा स्पेनी भाषामा बोल्दै उनले आफ्नो कुकृत्यप्रति क्षमा माग्दै आफूले माफी पाउने आशा गरेको पनि बताएकी थिइन्।

म्यान≈याटनमा चलेको दुई महिना लामो मुद्दाको दौरान मारिएका बालबालिकाकी आमा म्यारिना क्रिमले सर्वोच्च अदालतमा लुलुको डान्स क्लासमा ओर्टेगा नआएपछि आफू कसरी आफ्नो ३ वर्षीया तेस्रो सन्तान नेस्सीसँग घर आएको बताएकी थिइन्।

उनले घरपुग्दा ओर्टेगाले आत्महत्याको प्रयास गर्ने क्रममा आफ्नै घाँटीमा छुरा घोपेको देखेको पनि स्मरण गरेकी थिइन्। पछि प्रहरीले आफ्नो बचेकी एकमात्र बच्ची क्रिमलाई समाउँदै चिच्याएर रुँदै गरेको अवस्थामा उनलाई फेला पारेको थियो। वकिलहरूले अपर वेस्ट साइड अपार्टमेन्टमा बस्ने परिवारले आफूलाई चाहिनेभन्दा बढी समय काम गराइएको झोंकमा ओर्टेगा उक्त जघन्य अपराध गर्ने मनस्थितिमा पुगेको हुनुपर्ने अनुमान गरेका छन्।

आफ्नो १७ वर्षीय छोराको पढाइ शुल्क जुटाउनका लागि ओर्टेगाले त्यति धेरै मिहेनत गरी काम गरिरहेकी थिइन्। उनले आफ्नो छोरालाई डोमिनिकन रिपब्लिकबाट अमेरिकामा ल्याएर एउटा निजी विद्यालयमा भर्ना गारएकी थिइन्।

ओर्टेगाका वकिलहरूले मानसिकरूपमा विक्षिप्त स्थितिमा पुगेकी तथा दिग्भ्रमित रहने गरेकी उनले आफूलाई शैतानले ती बालबालिका र आफैलाई हत्या गर्न आदेश दिएको बताएको जानकारी अदालतलाई दिएका थिए। हत्याकाण्डको समय ती बालबालिकाका पिता केभिन क्रिम व्यापारको सिलसिलामा विदेशमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्