अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुँदै, कर्मचारी भन्छन्– गाह्रो छ मन्त्री भन्छन्– जसरी पनि हुन्छ



दीपेन्द्र थापा, काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन गर्ने महत्वाकांक्षी योजना अन्तिम चरणमा पुगेको छ। जेठ ७ गतेबाट विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने पूर्वनिर्धारित भएका कारण तयारी अन्तिम चरणमा पुगेको विमानस्थलका अधिकारीहरूको भनाइ छ।

मन्त्रीको महत्वाकांक्षी योजनाले अन्तिमरूप लिँदै गर्दा कर्मचारी युनियनहरूले भने कार्यान्वयनमा आशंका व्यक्त गरेका छन्। विमानस्थलभित्रको व्यवस्थापन र जनशक्तिको स्रोत परिचालनमाथि गहिरो अध्ययन नै नगरी योजना आएको भन्दै उनीहरूले आंशका व्यक्त गरेका हुन्। मन्त्रीको घोषणा सकारात्क भए पनि पूर्वाधार र जनशक्तिका बारेमा अध्ययन नै नगरी योजना ल्याउँदा असफल हुने कर्मचारीको तर्क छ।

मंगलबार निरीक्षणका निम्ति विमानस्थल पुगेका मन्त्री अधिकारीले कर्मचारीलाई निर्देशन दिँदै जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा सञ्चालन गर्ने निर्णयमा आफू दृढता रहेको उल्लेख गर्दै कार्यसम्पादनमा कटिबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो–‘समस्या होलान, समस्याको समाधान पनि निकालौंला तर कुनै बहानामा वा कसैको धम्कीका भरमा विमानस्थल २१ घण्टा नरोकिने छैन, योजना असफल पनि हुने छैन।’

मन्त्री अधिकारीले भोलिका दिनमा अन्य विमानस्थल बन्ने क्रममा रहे पनि हाललाई त्रिभुवन विमानस्थलको भार कम गर्न र काम व्यवस्थित गर्नको लागि समय बढाउनुको विकल्प नरहेको बताउनुभयो। ‘राम्रो व्यवस्थापन र इच्छा शक्ति भए काम गर्न कुनै समस्या नभएको बताउँदै मन्त्री अधिकारीले रकम, कर्मचारीको सेवा सुविधा, कानुनी झन्झट सबै बोक्न म तयार छु,’ भन्नुभयो।
कर्मचारीले विमानस्थलको पूर्वाधार, जनशक्तिलगायतको सही अध्ययन नै नगरी कार्ययोजना ल्याएको विषयमा जवाफ दिँदै मन्त्री अधिकारीले विमानस्थलको पूर्वाधार, जनशक्ति सबैको अध्ययन गरेरै कार्ययोजना ल्याएको दाबी गर्नुभयो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कर्मचारीका जायज माग पूरा गर्देै जेठ ७ गतेबाट विमानस्थल २१ घण्टा सञ्चालन हुने बताउनुभयो। हाल जति कर्मचारीको दरबन्दी छ, त्यो चारचरण विमानस्थल सञ्चालनको लागि पर्याप्त भएको बताउँदै आवश्यकता अनुरुप जनशक्ति थपेर पनि कार्ययोजना सफल पार्ने बताउनु भयो।

जेठ ७ गतेबाट २१ घण्टा विमानस्थल सञ्चालनको कार्ययोजना तयार भएको विमानस्थलमा महाप्रबन्धक राजकुमार क्षत्रीले बताउँदै मन्त्रीको निर्देशन अनुरुप काम अगाडि बढेको बताउनुभयो। एयर ट्राफिक कन्ट्रोलतर्फको आवश्यक जनशक्ति व्यवस्थापनको तयारी गरिरहेको समेत बताउनुभयो।

राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष श्रावणकुमार यादवले २१ घण्टा सञ्चालन गर्नु अघि कर्मचारीका समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न, पूर्वाधारको विकास गर्न र अप्रेसनमा बस्ने कर्मचारीलाई थप सुविधाका माग गर्नुभयो। यादवले कर्मचारीलाई पेलेरभन्दा पनि उनीहरूको मागलाई सम्बोधन गरी अगाडि बढ्न र कार्यालयको काम र अप्रेसनको कामलाई एउटै ढंगले नेहर्न आग्रह गर्नुभयो।

दैनिक चार सयको हाराहारीमा उडान र अवतरण हुने गरेको विमानस्थलमा मन्त्रालयले हालको १८ घण्टा सञ्चालन अवधि बढाएर २१ घण्टा सञ्चालनमा आएसँगै एयर ट्राफिकको समस्या केही हदसम्म कम हुने र त्रिभुवन विमानस्थलमा एयर ट्राफिक बढेका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान घण्टौं आकाशमै होल्ड गर्नुपर्ने समस्याकोमा अन्त्य हुने दाबी अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्