नेपालमा हिन्दी फिल्मलाई रेड कार्पेट, हिन्दुस्तानमा संविधानमै नेपाली भाषा भए पनि सेन्सरको अवरोध



विदुर गिरी

हिन्दुस्तानका फिल्महरु भारतमा रिलिज भएकै दिन नेपालभर पनि सँगसँगै चल्छन्। तर, नेपाली फिल्म भने भारतमा चल्दैनन्। जसले गर्दा लाखौं नेपालीको समेत बास भएको हिन्दुस्तान नेपाली फिल्मको गतिलो बजार बन्ने सम्भावना हुँदाहुँदै पनि त्यसो हुन सकिरहेको छैन।

भारतीय उत्पादनहरु जसरी सहजैरूपमा नेपाल भित्रन्छन्, त्यसै गरी हिन्दी सिनेमा पनि नेपालका बजारमा ओइरिन्छन्। तर, जसरी केहीलाई छोडेर अधिकांश नेपाली उत्पादन भारत भित्रन सक्दैनन्, त्यसै गरी नेपाली फिल्मले पनि भारतीय शहरका हलमा प्रवेश पाउँदैनन्। केही वर्षअगाडिसम्म फाट्टफुट्ट रूपमा नेपाली फिल्मले भारतका गिनेचुनेका अझ खास गरी नेपालीभाषीको ठूलो उपस्थिति भएको शहरमा स्थान पाउने गर्दथ्यो। तर, नेपाली फिल्म क्षेत्रले डिजिटल प्रविधि अंगिकार गरेपछि अन्य देशमा नेपाली फिल्म पुगे पनि भारतमा भने ठप्पप्रायः भएको छ।

पहिले पहिले एनलग प्रविधिमा बन्ने भएकाले नेपाली फिल्म स्वदेशमा प्रदर्शन गरिसकेपछि भारतीय शहरमा पुगेर देखाइने गरिन्थ्यो। तर, निर्माण र वितरणसम्मको कार्य डिजिटल प्रविधिमा हुन थालेपछि एकैदिन देशभरमा सबै शहरमा एकसाथ रिलिजमा आउने तथा भारतमा पनि एकैदिन रिलिज गर्न झन्झटिलो र लामो सेन्सर प्रक्रियाका कारण महिनौं ढिलो हुने, यसले गर्दा हिन्दुस्तानसम्म नेपाली फिल्म पुग्दा पुरानो हुने भएकाले भारतमा नेपाली फिल्मको ठूलो बजारको सम्भावना हुँदाहुँदै पनि गुमाउनुपरेको अवस्था छ।

हिन्दुस्तानको संविधानमा नेपाली भाषा १६औं स्थानमा छ। र पनि सेन्सरमा नेपाली फिल्म सेन्सर गर्न पूर्ण स्क्रिफ्ट रोमनमा अनुवाद गरेर बुझाउनुपर्छ। ठीक उल्टो संविधानले नै नचिनेको हिन्दी भाषाका फिल्म नेपालको सेन्सरले रातारात रातो कार्पेट ओछ्याएर सेन्सर गरिदिन्छ।

त्यसो त ३१ अगस्ट १९९२ का दिन बनेको हिन्दुस्तानको संविधानमा नेपाली भाषा १६औं स्थानमा छ। तर, त्यहाँको सेन्सर सर्टिफिकेसन सेन्टरमा नेपाली भाषा विज्ञको व्यवस्था नगरिएका कारण नेपाली फिल्मको पूर्ण स्क्रिफ्ट उनीहरुले बुझ्ने गरी रोमनमा अनुवाद गरेर बुझाउनुपर्छ। जसले गर्दा समय र पैसा पनि त्यत्तिकै पर्न जान्छ। यो प्रक्रिया पूरा गर्न आफ्नो फिल्म भारतका शहरमा पनि देखाउन चाहने नेपाली फिल्मका निर्माताले महिनौं दिन होटलमा कुरेर बस्नुपर्छ। हिन्दुस्तानमा सयौं फिल्म निर्माण हुने भएकाले भारतको सेन्सर सर्टिफिकेसनमा सेन्सरका लागि डेट पाउन पनि लामै समय प्रतीक्षा गर्नुपर्छ। सबै प्रक्रिया पूरा गरेर फिल्म रिलिज गरुञ्जेलसम्म नेपाली फिल्म नेपालका हलमा चलेर उत्रिई युट्युबमै आउने समय भइसक्छ। जसका कारण नेपाली फिल्मले भारतको बजार गुमाउन बाध्य हुनुपर्छ।


यसको ठीक उल्टो नेपालको संविधानमा मैथिली, भोजपुरीलगायतका भाषालाई मान्यता दिइए पनि हिन्दी भाषालाई मान्यता दिइएको छैन। तर, संविधानले नै नचिनेको हिन्दी भाषाका बलिउड फिल्म नेपालमा बिहीबार आइपुग्छ। नेपालको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) पनि बिहान, दिउँसो, राति, मध्यराति जुन समयमा आइपुगे पनि रातारात हतार–हतार रातो कार्पेट ओछ्याएर भारतीय फिल्मको सेन्सर गरिदिन्छ र भोलिपल्ट शुक्रबार भारत र अन्य देश सँगसँगै नेपालका हलमा पनि हिन्दी फिल्मले स्थान पाउँछ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले योसँगै नेपालमा बलिउड फिल्मको सुटिङका लागि प्रेरित गर्न, नेपालमा फिल्म सिटी निर्माण गर्न र भारतमा नेपाली फिल्म सुटिङ गर्दा सहुलियत र सुविधा उपलब्ध गराउन इन्डियन फिल्म डेभलेमेन्ट बोर्डको संस्कृति विभागसँग समन्वय भइरहेको बताइन्। ‘नेपालमा हिन्दी फिल्मको सेन्सर भएजस्तै भारतमा पनि नेपाली फिल्म एकैदिनमा सेन्सर हुनुप¥यो भनेर पहल गर्दै छौं। यीबाहेक नेपालमा भारतीय फिल्मको सुटिङका लागि प्रेरित गर्न पनि पहल गर्दै छौ’, निकिता भन्छिन्– ‘अहिले बक्स अफिस लागू गर्ने काममा व्यस्त छौं। त्यसपछि भारतमा नेपाली फिल्मको रिलिज र सेन्सर सरल बनाउन पहल गर्ने छौं।’

प्रतिक्रिया दिनुहोस्