लिटिल प्रिन्स र प्रिन्सेज भारतको प्रतियोगितामा



आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०१८ र तेस्रो टिन प्रिन्सेज डिभा–२०१८ का विजेताहरु भारत जाने तयारीमा जुटेका छन्। जुलाई ८ मा भारतको नयाँदिल्लीमा आयोजना हुने इन्टरनेसनल ब्युटी पेजेन्टमा सहभागी हुन विजेता तयारीमा जुटेका हुन्।

गत चैत्र २२ रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न लिटिल प्रिन्स एन्ड प्रिन्सेज–२०१८ तथा तेस्रो टिन प्रिन्सेज डिभा–२०१८ सम्पन्न भएको थियो। ९ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लिएर गरिएको लिटिल प्रिन्स एन्ड प्रिन्सेजमा सुप्रिया महर्जनले लिटिल प्रिन्सेज र नमन मित्तलले लिटिल प्रिन्सको उपाधि जितेका थिए।

लिटिल प्रिन्सेजतर्फ दोस्रो स्थानमा प्राप्या पोखरेल र तेस्रो स्थानमा प्रास्ना गिरी थिए। त्यसै गरी लिटिल प्रिन्सतर्फ सुशान्त सुवेदी दास्रो र जेनिश श्रेष्ठ तेस्रो स्थानमा पर्न सफल भएका थिए। टिन प्रिन्सेज डिभाको उपाधि रोसिका निरौलाले जितेकी थिइन्। १३ देखि १५ वर्ष उमेर समूहलाई लिएर गरिएको प्रतियोगितामा महिमा वज्राचार्य दोस्रो हुनुका साथै बेस्ट ट्यालेन्टको अवार्डसमेत जितेकी थिइन् भने आइसा राइले तेस्रो स्थान प्राप्त गरेकी थिइन्।

कार्यक्रमका विजेतालाई देशका साथै विदेशमा पनि विभिन्न फेसन शो र ब्युटी पेजेन्टमा सहभागी गराउने अवसरअन्तर्गत भारत लान लागेको र अन्तर्राष्ट्रिय स्पर्धा भएकाले सोहीअनुसार कोरियोग्राफी, क्याटवकलगायतका विभिन्न तालिम दिँदै गरेको आयोजक संस्थाका निर्देशक राज फैजुले बताए। सहभागीका लागि नेपाली संस्कृति झल्किने गरी श्रीषा वैदारले ड्रेस डिजाइन गर्ने छिन्। कार्यक्रमका लागि जुलाई ५ मा नेपाली टोली भारत प्रस्थान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्