सिन्धुपाल्चोकमा ठडिए २० हजार घर



नानीराम नेपाल, सिन्धुपाल्चोक

विनाशकारी भूकम्पको ३ वर्षपछि अतिप्रभावित सिन्धुपाल्चोक पुनर्निर्माणमा व्यस्त बनिरहेको छ। ३ वर्षपछि निजी आवास पुनर्निर्माणले गति लिएको छ। यति बेला सिंगो सिन्धुपाल्चोक पुनर्निर्माणमा जुटेको छ। ३ वर्षका बीच भूकम्पमा ध्वस्त भएकामध्ये २५ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरिसकेका छन्, ८० प्रतिशतले धमाधम पुनर्निर्माणको काम गरिरहेका छन्। तर, पहिलो किस्ताको ५० हजार लिएका झण्डै १० प्रतिशतले भने हालसम्म पुनर्निर्माण शुरु गरेका छैनन्।

जिल्ला आयोजना कार्यान्वय एकाइका अनुसार पहिलो किस्ता प्राप्त गरेका ८१ हजार ९ सय ८ लाभग्राहीमध्ये २१ हजारले पुनर्निर्माण सम्पन्न नै गरिसकेका छन्। विपद्को ३ वर्षमा २१ हजार घर–परिवार अस्थायी टहराबाट घरबासमा सरेका छन्। पछिल्लो तथ्याङ्कअनुसार ६९ हजार निजी घर धमाधम पुनर्निर्माण भइरहेका छन्। स्थानीय सरकारको ताकेता र पुननिर्माण प्राधिकरणले ‘डेटलाइन’ तोकिदिएपछि पहिलो किस्ता लिएर पुनर्निर्माण शुरु नगरेकाहरू यतिबेला एकसाथ पुनर्निर्माणमा जुटेका हुन्। पछिल्लो समय पुनर्निर्माणले तीव्रता पाएसँगै दशैंअगावै सिन्धुपाल्चोकका सबै निजी घर संरचना निर्माण हुने संकेत देखिएको छ। ‘निजी आवास पुनर्निर्माणले गति लियो, पहिलो किस्ता लिएका थोरैले मात्र पुनर्निर्माण थालेका छैनन्।’ –शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर टंक गौतमले भने। हालसम्म पहिलो किस्ताको काम सम्पन्न गरी दोस्रो किस्ता माग गरेकामध्ये ६२ हजार ७ सय ४८ लाभग्राहीलाई दोस्रो किस्ताको प्रमाणीकरण गरिएको छ। दोस्रो किस्ता पनि प्राप्त गरी काम सम्पन्न गरेका १८ हजार लाभग्राहीलाई तेस्रो किस्ताका लागि सिफारिस र प्रमाणीकरण भइसकेको छ।

अनुदान लिनै सास्ती
एउटै छानामुनिबाट सेवा प्रवाह नहुँदा अनुदान लिन भूकम्पपीडित लाभग्राहीलाई ठूलै सास्ती छ। पहिलो किस्ता प्राप्त गरी घर निर्माण थालेका उनीहरूलाई दोस्रो र तेस्रो किस्ता लिनका लागि धेरै झन्झट छ। एक जना लाभग्राहीले पुनर्निर्माणको अनुदान पाउन विभिन्न पाँच चरण पार गर्नुपर्ने अवस्था छ। प्राविधिक जाँचपछि पीडितले वडा कार्यालयमा निवेदन दिन्छन्, वडा कार्यालयले शहरी विकास तथा भवन निर्माण डिभिजनमा पठाउँछ। भवन डिभिजनले जिल्ला समन्वय समितिमा पठाउँछ अनि जिल्ला समन्वय समितिले कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाउँछ। र, कोलेनिकाबाट पुनः भुकम्पपीडितको फाइल जिल्ला समन्वय समितिमा पुग्छ अनि मात्र पीडितका नाममा बैंकमा जम्मा हुन्छ। पुनर्निर्माणसँग सम्बन्धित यी कार्यालयहरू एउटै छानामुनि नहुँदा अनुदान वितरणमा ढिलाइ भएको हो।

खातामा पैसा, हातमा छैन
‘वडा कार्यालयमा जाँदा पैसा आइसकेको छ भन्छन्, बैंकमा गयो पछि आउनु भन्छन्। काम गर्ने मान्छेले कराइरहेको छन्, सामान उधारो लगेको पैसा साहुले मागिरहेका छन्।’ –केही दिनअघि खाडीचौरस्थित सिन्धु विकास बैंकबाट फर्कीएका फुल्पीङडाँडाका एक भूकम्पपीडित भन्दै थिए। बैंक खातामा पैसा आएको सूचना पाएपछि उनी बैंकमा पैसा लिनका लागि गए, तर रित्तै फर्किए। केही दिनपछि आउनु भन्दै बैंकका कर्मचारीले उनलाई फर्काइदिए। ‘हाम्रो नाममा तेस्रो किस्ता आइसकेको छ तर बैंकले अर्को हप्ता आउनु भनेर फर्कायो। पैसा आइसक्दा पनि बैंकले पछि–पछि भनेर मिति सारिदिन्छ। हाम्रो पैसा बैंकमै महिना दिन राख्नुपर्ने हो कि तत्काल पाइने हो बुझ्न सकिएन।’ –अर्का एक भूकम्पपीडित बैंकका कर्मचारीसँग प्रश्न गर्दै थिए। सरकारी निकायले रकम जम्मा गरेको झण्डै महिना दिनसम्म आफूहरूले नपाएको भन्दै भूकम्पपीडित गुनासो गर्छन्। निजी आवास पुनर्निर्माण अनुदानको दोस्रो र तेस्रो किस्ता भुक्तानी लिनका लागि बैंकमा झमेला हुने गरेको भूकम्पपीडित बताउँछन्।

प्रतिक्रिया दिनुहोस्