गाजामा प्रदर्शनका क्रममा ५५ जनाको मृत्यु, २७ सय बढी घाइते



ब्रसेल्स । सोमबार गाजा क्षेत्रमा प्यालेस्टिनी नागरिकको प्रदर्शनका क्रममा इजरायलसँगको झडपमा परी कम्तीमा ५५ प्यालेष्टिनीको मृत्यु भएको छ। प्यालेस्टिनी अधिकारीका अनुसार झडपमा अन्य २ हजार ७ सयभन्दा बढी घाइते भएका छन्।

सीमाक्षेत्र गाजाका १३ स्थानमा करिब ४० हजारभन्दा बढी प्यालेस्टिनी समर्थकहरु आन्दोलनमा सामेल भएको इजरायलले दावी गरेको छ। झडपमा प्यालेस्टिनी आन्दोलनकारीले ढुंगा, मुढाको प्रयोग गरेका थिए इजरायली सीमा सुरक्षा बलले अश्रु ग्यास तथा स्निपरमार्फत गोली प्रहार गरेका थिए।

सन् २०१४ देखि गाजा क्षेत्रमा भएका अन्दोलनका घटनामध्ये यो सबैभन्दा बढी मानवीय क्षती भएको घटना हो।

घटनाको जिम्मेवारी प्यालेस्टिनी समूह हमासले लिनुपर्ने तथा हमासले जानीबुझिकनै प्यालेस्टिनीहरुलाई इजरायलको विरुद्धमा खडा हुन उत्तेजित बनाइरहेको आरोप अमेरिकाले लगाएको छ। ह्वाइटहाउसका प्रवक्ता राज शाहले एक विज्ञप्ति जारी गर्दै घटनाले दुखित तुल्याएको बताएका छन्।

प्रदर्शनका क्रममा थप क्षति हुन नदिन दुवै देशलाई संयममता अपनाउन अन्तर्राष्ट्रिय समुदायले अनुरोध गरेका छन्। युरोपियन युनियन, कुवेत, जर्मनी बेलायत, फ्रान्स, टर्की, दक्षिण अफ्रिका, संयुक्त राष्ट्रसंघलगायतले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको स्वतन्त्र रुपमा छानविन गर्न र शान्तिपूर्ण तवरबाट समस्या सुल्झाउन आग्रह गरेका छन्।

यूरोपेली यूनियनका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरायलले ‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार र समानताको आधारमा सुरक्षा बलको प्रयोग गर्ने’ सिद्धान्तको सम्मान गर्नुपर्ने तर्क गरे। त्यसैगरी हमास र गाजा क्षेत्रमा प्रदर्शनमा सरीक अन्य प्यालेष्टिनी पक्षले पनि आफू गैर हिसात्मक बन्दै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु आवश्यक भएको इयूका उच्च कूटनीतिज्ञले सोमबार एक विज्ञप्ति जारी गरी बताएका हुन्।

इजरायल र प्यालेष्टिनीहरूबीच अत्यधिक तनावमा देखिँदै आएको गाजा तथा पूर्वी जेरूसेलममा सम्बन्धित पक्षले संयम नअपनाउने हो भने यसबाट वर्णन गर्न नसकिने प्रकारको थप पीडा भोग्न बाध्य हुने र यसले शान्ति र सुरक्षाको स्थिति थप जटिल मोडमा जाने वक्तव्यमा मोघेरिनीले उल्लेख गरेका छन्।

सोमबार अमेरिकाले जेरूसेलमलाई मान्यता दिँदै आफ्नो राजदूतावासलाई जेरूसेलममा स्थापना गर्ने तयारी भइरहँदा अमेरिकासमेतको विरोधमा भएको प्रदर्शनमा झन्डै ५ दर्जन प्यालेष्टिनी नागरिकको ज्यान गुमेको हो।

यसैबीच अमेरिकाले प्यालेष्टिनीको व्यापक विरोधका वावजुद पनि आफ्नो राजदूतावासलाई तेल अभिभबाट जेरूसेलममा स्थापना गरेको छ।

प्रतिक्रिया दिनुहोस्