फेसियल हाउसको फेसन शो



फेसियल हाउसले आगामी जेठ ११ गते शुक्रबार राजधानीमा नयाँ अवधारणामा फेसन शो गर्ने भएको छ। फेसियल हाउसद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मेनेजिङ डाइरेक्टर सुष्मा महराले फेसन ट्रेड सिजन टुः फेसन सबैका लागि भन्ने नयाँ अवधारणामा फेसन शो प्रस्तुत गरिने बताइन्।

‘यसपल्ट हामीले समय सान्दर्भिक फेसनेबल डिजाइन, मेकअप र भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेसन टे«डमार्फत प्रस्तुत गर्न लागेको छौं। फेसन मिलेको ज्यान भएकाका लागि मात्रै नभई ज्यानअनुसार मिलाउनु पनि हो भन्ने मान्यतालाई स्थापित गर्न सबै प्रकारका जिउडाल भएकालाई र्याम्पमा उतार्दै छौं’, सुष्माले भनिन्– ‘मान्छेको उचाइ, लम्बाइ र चौडाइ मात्रै सौन्दर्यको मानक होइन भन्ने देखाउनका लागि पनि हो यो फेसन शो।’ फेसनसँग जनजीवनलाई जोड्ने प्रयासअन्तर्गत आफूहरूले फेसन शोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको उनले बताइन्। उनले यसपल्ट फेसन शोका लागि मोडल मात्रै नभई रोलमोडल पनि छानेको बताइन्।

फेसन डिजाइनर प्रेम देवाले पहिरनका साथै मेकअप र हेयर स्टाइलले व्यक्तित्व खुलाउने फेसन शोमा देखिने बताए। कोरियोग्राफर लक्की खड्गीले मोडलबाहेकलाई पनि र्याम्पमा उतार्ने काम चुनौतीपूर्ण हुने बताए।

शोमा मौसमी डिजाइनका पहिरन, नयाँ फेसन ट्रेन्ड र डिजाइनरहरूका कला प्रस्तुत गर्ने आयोजकले जनाए। फेसन ट्रेड सिजन टुका लागि महराका डिजाइनका मेकअपलाई प्रस्तुत गर्न कोरियोग्राफ लक्की खड्गी, दिक्पाल कार्की, स्मित तामाङ, ड्रेस डिजाइनर प्रेम देव, एनी तथा मेकअपमा चन्द्र लामा र हेयर डिजाइनमा बिगेन तामाङ रहनेछन्। फेसन ट्रेड सिजन वन पोखरामा भएको थियो।

शोमा समाजका प्रतिष्ठित विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा स्थापित व्यक्तिलाई र्याम्पमा उतार्ने प्रयास गरिएको महराले बताइन्। शोमा कलाकारहरू करिष्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्य, दिक्पाल कार्की, आमेश भण्डारी, एसराज गराच, मिस नेपालहरू उषा खड्गी र सुगरिका केसी, मेरी बास्सैकी कलाकार सुनीता गौतमका साथ शोमा सुवास ढकाल, केपी ढुंगानालगायतका एक दर्जन पत्रकार पनि र्याम्पमा उत्रने भएका छन्। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने कार्यक्रममा गायक युवराज चौलागाईं, गायिका आस्था राउतलगायतले आफ्नो प्रस्तुति पस्किनेछन्।

प्रतिक्रिया दिनुहोस्