बजेट सार्कको भ्रमण पारिवारिक



सरकारी नीति तथा अनुगमन फितलो भएकै कारण देशका ठूल्ठूला संस्थाको जिम्मेवारी सम्हालेका व्यक्तिहरू नै गैरजिम्मेवार हुँदै छन् भन्ने उदाहरणका लागि सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा. आरपी विच्छाले गरेका गतिविधिलाई सबैले छर्लङ्गै देखेका छन्। तर, यस विषयमा सरकारका आधिकारिक निकाय स्वास्थ्य मन्त्रालय मौन हुुनुले सोही कार्यालयमा कार्यरत कर्मचारी नै आश्चर्यमा परेका छन्।

डा. विच्छाले सार्कको निर्देशक पदको जिम्मेवारीको दुरुपयोग गर्दै सार्क सम्मेलन जस्तो महŒवपूर्ण कार्यक्रममा जिम्मेवार र जवाफदेहीताको भूमिका निर्वाह गर्नुपर्नेमा सार्कको बजेटमा आफ्नी श्रीमती र छोरालाई आफूसँगै विदेश घुमाउन लैजाँदासमेत मन्त्रालय क्षयरोग केन्द्रका जिम्मेवार व्यक्तिहरूले मौन स्वीकारेर खर्च स्वीकृति गर्नु निकै गम्भीर विषय भएको केन्द्रका कर्मचारीको टिप्पणी रहेको छ।

झन्डै ३ साताअघि अप्रिल २३ देखि २७ सम्म श्रीलंकामा भएको ‘केटाकेटीमा लाग्ने क्षयरोगको पहिचान तथा उपचारसम्बन्धी सार्क क्षेत्रीय तालिम’ (सार्क रिजनल ट्रेनिङ अन डाइग्नोसिस एन्ड ट्रिटमेन्ट अफ पेयडिट्रिक टिबी) सम्बन्धी सम्मेलनमा डा. विच्छाले आफ्नै हात जगन्नाथको नीति अवलम्बन गरी भर्खर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका उनका छोरा नवनित विच्छालाई ‘रिसर्च अफिसर’ को मनगढन्ते पद सिर्जना गरी भ्रमणमा लगे र सार्कको अफिसबाट खर्च गर्नुका साथै टीएडीएसमेत बुझेको स्रोतको दाबी छ। त्यतिमात्र नभई डा. विच्छाले छोरीलाई पनि सार्ककै पैसामा विदेश घुमाएको बुझिएको छ।

नवनित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीएस विद्यार्थी हुन् भने डा. विच्छाकी छोरी मुस्कान विच्छा पनि मणिपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन्। यी दुवैलाई फरक–फरक कार्यक्रममा फरक–फरक मितिमा विदेश भ्रमणको सुवर्ण अवसर दिलाउन डा. विच्छा तल्लीन भएको आरोप असन्तुष्ट कर्मचारीले लगाउँदै आएका छन्।। दोहोरो हवाई टिकटका साथै भ्रमण भत्तासमेत विच्छा परिवारले सार्क क्षयरोग केन्द्रबाटै लिएको बुझिएको छ।

डा. विच्छा निर्देशक, श्रीमती व्यवस्थापक, छोरा अनुसन्धानकर्ता जस्ता पदमा विदेश भ्रमण गर्नुमा डा. विच्छालाई अप्ठेरो होइन गर्व लागेको समेत केन्द्रका कर्मचारीहरू बताउँछन्। छोरालाई श्रीलंका र श्रीमतीलाई भुटानका छुट्टाछुट्टै कार्यक्रममा पठाएका विच्छाले केन्द्रकै कर्मचारीको मिलेमतोमा ठूलो रकम हिनामिना गरी फाइलसमेत गोप्य राखेको आरोप छ।

डा. विच्छाले भ्रमण मात्र सँगै नभएर अफिसको गोप्य बैठकमा समेत श्रीमती र छोरालाई साथै राखेको विषयमा सार्क सचिवालयको ध्यानाकर्षण भएको बुझिएको छ। विगतमा बाल स्वास्थ्य महाशाखामा पनि आर्थिकरूपमा प्रश्न उठेकै कारण डा. विच्छालाई तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालय तानेका थिए। मन्त्री परिवर्तनलगत्तै गतवर्ष डा. विच्छा सार्क क्षयरोग केन्द्रको निर्देशकमा नियुक्ति भएका थिए। उनले केन्द्रको जिम्मेवारी सम्हालेदेखि नै केन्द्रको विकासका काम शून्य र सम्मेलनमा श्रीमती, छोरा, छोरीलाई पालैपालो विदेश भ्रमण लाने काम तीव्ररूपमा भइरहेको आरोप कर्मचारीहरूको रहेको छ।

प्रतिक्रिया दिनुहोस्