नेपाली ‘म्याराडोना’ लेजेण्ड फुटबलर मणि शाह रहेनन्



काठमाडाैँ । नेपाली म्याराडोनाको उपमा पाएका लेजेण्ड फुटबलर मणि शाहको निधन भएको छ । आइतबार साँझ नर्भिक अस्पताल भर्ना गरीएका शाहको आन्तरिक रक्तश्रावका कारण निधन भएको अस्पताले जनाएको छ ।

पित्तथैली र कलेजोको समस्याबाट लामोसमयदेखी पीडित नेपाली म्याराडोनाको उपमा पाएका लेजेण्ड फुटबलर ५१ वर्षीय मणि शाहको उपचारका क्रममा निधन भएको छ । एक्कासी ज्वरो आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरीएका शाहको आन्तरिक रक्तश्रावका कारण सोमबार बेलुका ५ बजेर ४२ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । सन् १९८४ देखि १९९८ सम्म १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीमा बिताएका शाहले उत्कृष्ट एट्याकिङ मिडफिल्डर पहिचान बनाए थिए ।

सन् १९९३ मा बंगलादेशको ढाकामा भएको दक्षिण एशियाली खेलकुदमा नेपालले एकमात्र स्वर्ण फुटबलमा ल्याउँदा फाइनलमा भारतबिरुद्ध अन्तिम सेकेण्डमा बराबरी गोल र पेनाल्टीमा अविश्मरणीय ५–४ को जित निकाल्दा मणि शाहले उत्कृष्ट प्रर्दशन गरेका थिए । त्यसअघि, सन् १९८३ मा थाइल्याण्डको बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा राष्ट्रिय टोलीबाट खेल्नुअघि मणि शाहले १३ वर्षको उमेरमै ठमेल–११ क्लवबाट बी डिभिजन लिग खेलेका थिए । प्रिन्सेस कप खेलेर फर्किएपछि उनी मनाङ मस्र्याङदी क्लवमा आबद्ध भए ।

सन् १९९८ को एशियाली खेलकुदमा नेपालको झण्डा बाक्ने सौभाग्य पाएका शाह एशियाली खेलकुदमा नेपालको झण्डा बोक्ने अहिलेसम्मकै एकमात्र फुटबल खेलाडी हुन् । १३ वर्ष नेपाली राष्ट्रिय टोलीमा बिताएका शाहले १० अन्र्तराष्ट्रिय गोल गरेका छन् । शाहको निधनमा अखिल नेपाल फुटबल संघ एन्फाले शोक व्यक्त गरेको छ । नेपाली फुटबलमा शाहको निधनले अपुरणीय क्षति भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रतिक्रिया दिएका छन् । स्वर्गिय शाहकी श्रीमती र १ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्