शेयर बाँडफाँडमा निर्माता र प्रदर्शकबीच सहमति



विदुर गिरी, काठमाडौं

निर्माताहरूको शेयर बाँडफाँडमा हेरफेरको विषयमा निर्माता र प्रदर्शकबीच सहमति भएको छ। निर्माताको छाता संगठन नेपाल चलचित्र निर्माता संघ र प्रदर्शकको छाता संगठन नेपाल चलचित्र संघबीच आइतबार विभिन्न चरणमा भएको वार्तापछि ढिलो राति सहमति जुटेको हो। सहमतिअनुसार फिल्म रिलिज भएको पहिलो साता निर्माताले ५० र प्रदर्शकले ५० प्रतिशत शेर बाँडफाँड गर्ने छन्। त्यसै गरी दोस्रो साता निर्माता ४५ र प्रदर्शकले ५५ प्रतिशत, तेस्रो साता निर्माताले ४० र प्रदर्शकले ६० प्रतिशत शेयर पाउने छन्। चौथो सातादेखि भने निर्माताको हातमा ३५ र प्रदर्शकको हातमा ६५ प्रतिशत रकम हात पर्नेछ। यसअघि निर्माताले मल्टिप्लेक्स हलहरूबाट पहिलो साता ५०, दोस्रो साता ४२.५, तेस्रो साता ३७.५ र चौथो साताबाट ३० प्रतिशत शेयर पाइरहेका थिए।

शेयर बाँडफाँडमा हेरफेर नगरे आगामी १ गतेबाट फिल्म रिलिज गर्न नदिने चेतावनीका साथ निर्माता संघले आन्दोलन घोषणा गरेपछि दुई पक्षबीच जारी वार्ता आइतबार विभिन्न विषयमा विवाद हुँदै रोकिँदै अगाडि बढ्दै आएको थियो। निर्माता संघले २०६० साउन २३ गते चलचित्र संघसँग भएको सम्झौता पुनरावलोकन गर्दै काठमाडौं उपत्यकामा फिल्म प्रदर्शनबाट उठेको कुल रकममा भ्याट कट्टा गरी बाँकी रकममा फिल्म हलको भौतिक सुविधा, व्यापार, तथा क्षेत्रको आधारमा निर्माता÷वितरकले ५५ देखि ६० प्रतिशत र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मका दरले शेयर रकम लिने–दिने सहमति भएकाले सोहीअनुसार गर्नुपर्ने माग अगाडि सारेको थियो।

यस विषयमा सहमति नजुटे भोलि १ गतेभन्दा अगाडिबाट रिलिजमा आएका फिल्मलाई यथावत् राखी २ गतेबाट प्रदर्शनमा आउने सम्पूर्ण भाषाका फिल्मको प्रदर्शनमा रोक लगाउन बाध्य हुने निर्माता संघद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो। संघको मागप्रति नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र नृत्यकार संघ, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र उपकरण व्यावसायिक संघ, नृत्य निर्देशक संघ नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल, संगीतकार संघ नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, नेपाल संगीत उद्योग संघ, गीतकार संघ नेपाल, नेपाल सांगीतिक संघ, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल र आदिवासी जनजाति चलचित्र महासंघले पनि ऐक्यबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्