फैजकी छोरीलाई भारतमा बोल्न रोक



नयाँदिल्ली, (एजेन्सी)
पाकिस्तानका प्रख्यात सायर फैज अहमद फैजकी छोरी मोनिजा हासमीलाई हालै भारत भ्रमणका क्रममा एक कार्यक्रममा भाग लिन रोक लगाएको छ।

मोनाजी हासमी नयाँ दिल्लीमा मे १० देखि १२ बीच आयोजित एसिया मिडिया समिटको १५ अधिवेशनमा सहभागी हुन भारत भ्रमणमा आएकी थिइन्। तर, जब उनी उक्त सम्मेलनका लागि पाकिस्तानबाट दिल्ली पुगिन्, सम्मेलनको आयोजकले उनलाई यसमा भाग लिन दिएन। उक्त सम्मेलनको आयोजना एसिया प्यासेफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी)ले गर्दै आइरहेको छ। पहिलोपटक यसको आयोजना भारतमा भएको हो। सर्वोच्च अदालतका वरिष्ठ वकिल प्रशान्त भूषणले आफ्नो ट्विटरमा उक्त घटनाको निन्दा गरेका छन्।

मोनिजा हासमीका छोरा अली हासमीले पनि उक्त घटनाका सम्बन्धमा ट्विट गरेका छन्। उनले आफ्नी ७२ वर्षीय आमालाई सम्मेलनमा बोलाएपछि भाग लिन नदिएको ट्विट गरेका छन्। यो सम्मेलन भारतमा पहिलोपटक आयोजना भएको हो र जुन देशमा यसको आयोजना हुन्छ, त्यहाँको सरकारले यसको आतिथ्यता गर्नुपर्ने हुन्छ।

भारत सरकार र कार्यक्रमका आयोजकका तर्फबाट अहिलेसम्म यस मामिलामा कुनै प्रकारको आधिकारिक बयान आएको छैन। हासमीले आफूमाथि भएको उक्त व्यवहारलाई लिएर भनेकी छिन्– ‘मैले विगत १२–१४ वर्षदेखि यस सम्मेलनमा भाग लिँदै आइरहेकी छु। कहिले चीनमा, कहिले भियतनाममा, कहिले हङकङमा यसको आयोजना हुने गरेको छ। भारतमा यो पहिलोपटक आयोजित भएको थियो।

आफूलाई पनि यस सम्मेलनका लागि आमन्त्रित गरेको र ६ महिनाका लागि मल्टी–एन्ट्री भिसा दिएको उनले बताइन्। तर, आफूलाई सहभागीहरू बस्नका लागि व्यवस्था गरिएको ताज प्यालेसमा कोठासमेत बुक नगरिएको उनले जानकारी दिइन्। ७२ वर्षीय मोनिजा हासमी फैज फाउन्डेसनको कार्यक्रम लिएर प्रायः भारतको यात्रा गर्दै आइरहेकी छिन्। तर, योपटक भने आफूले अनौठो व्यवहार झेल्नुपरेको बताएकी छिन्।

हासमीलाई कार्यक्रमको एक दिनअगाडि एक युवतीले आएर अर्को दिन हुने सम्मेलनमा बोल्न अनुमति नभएको जानकारी दिएको र सम्मेलनमा सहभागीहरूको सूचीबाट समेत हासमीको नाम हटाइएको जानकारी दिएकी थिइन्। आफूले एआईबीडीका निर्देशकसँग भेट्न चाहेको बताएपछि उनी आएको र माफी माग्दै घटनाका बारेमा उनले पनि केही समयअगाडि मात्र थाहा पाएको बताएको हासमीले बताइन्। निर्देशकले आफूलाई ‘कसैले’ उनी सम्मेलनमा भाग लिन नसक्ने र नामाकरण पनि गर्न नसक्ने बताएको उनले बताइन्। हासमी यस सम्मेलनमा महिला सशक्तीकरणको मुद्दामा आफ्नो कुरा राख्न आएकी थिइन् तर उनलाई सम्मेलनमा सहभागी नै हुन दिइएन।

‘यति धेरै डरको कारण के थियो ? हामी के पाकिस्तानबाट छुनै नहुने रोग लिएर आएका हौं र? नाम दर्तासमेत गर्न दिइएन। यो राम्रो होइन ? म शान्ति मन पराउने सबैको तर्फबाट भन्न चाहन्छु कि यस प्रकारको व्यवहार गर्नुहुँदैन, ढोका खुला राख्नुपर्छ। सबैसँग कुरा गर्नुस्, सबैको कुरा सुन्नुस् र आफ्नो राय पनि राख्नुस्। तर, यस्तो गर्नु हुँदैनथ्यो, कसैको अस्तित्वलाई नै स्वीकार नगर्ने’, बीबीसीसँगको कुराकानीमा हासमीले बताइन्– ‘पाकिस्तान राम्रो हो या नराम्रो, तर अस्तित्व छ, पाहुनासँग यस्तो व्यवहार गर्दैन।’

प्रतिक्रिया दिनुहोस्